काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपनिर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गरेका छन् ।
नेता रामचन्द्र पौडेलले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा निर्वाचित भएमा तनहुँ-१ मा उपनिर्वाचन हुनेछ ।
आठ दलीय गठबन्धनको मतले पौडेल जित्ने आकलन गरेर उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए । सोमबार बिहान सभापतिसँग भएको छलफलमा देउवाको बोली उधृत गर्दै भट्टराईले भने, ‘तनहुँ -१ मा उपनिर्वाचनमा जितेर आउनुपर्छ ।’
पुरानो गठबन्धन भत्किएर ट्रयाक बाहिर जान खोजेको राजनीतिलाई सही स्थानमा ल्याउन सकेकोमा आफूले सभापतिलाई धन्यवाद दिएको भट्टराईले बताए ।
पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेर पार्टीभित्र र बाहिर सकरात्मक सन्देश प्रवाह भएको सभापतिलाई सुनाएको भट्टराईले बताए । सभापतिसँग भेटका लागि समय मागेर गएको उनले सुनाए ।
तनहुँ १ मा भट्टराई उम्मेदवार प्रत्यक्षतर्फ सिफारिस भएका थियो । पौडेल नै उम्मेदवार हुने भएपछि उनले टिकट पाउन सकेनन् ।