काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

सन्दीप लामिछानेको मुद्दालाई फास्ट ट्र्याकबाट सुनुवाई गरेर छिटो किनारा लगाउन सर्वोच्च अदालतले जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ ।

उच्च अदालत ललितपुरको फैसलामाथि सरकारले गरेको पुनरावेदनमा आज फैसला सुनाउँदै सर्वोच्चले सो आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालले गरेको फैसलामा यो मुद्दा जबरजस्ती करणीको भएको र सन्दीप एक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी भएकाले सबैको चासो रहेको हुँदा छिटो किनारा लगाउनुपर्ने उल्लेख छ ।

साथै सर्वोच्चले बन्द इजलासमा सुनवाइ भएकाले आदेशको प्रतिलिपी जाहेरबाला, प्रतिवादी र वकिलहरुबाहेक अरुलाई उपलब्ध नगराउन तथा सामाजिक सञ्जालमा नराख्न पनि आदेश दिएको छ ।

क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा भाग लिन नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल पहल सुरु गर्ने भएको छ । क्यानका प्रवक्ता दुर्गा पाठकले आइसीसीसँग अनुमति लिएर अन्य प्रक्रियाहरु पूरा गरी सन्दीपलाई यूएई पठाइने जानकारी दिए ।

आज सर्वाेच्च अदालतले सन्दीपमाथि विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गरेपछि उनलाई यूएइ जान बाटो खुलेको हो । सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ ।

पाठकले नेपाली टिममा सन्दीपलार्ई थप्नका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)मा अनुमति माग्ने बताए । ‘हामी आजै आइसीसीमा पत्र पठाउछौं । उताबाट अनुमति आएपछि टिम म्यानेजरसँग सल्लाह गरेर निर्णय लिइन्छ,’ उनले भने ।

नेपालको टिम शनिबार यूएई भ्रमणका लागि प्रस्थान गरेको थियो । नेपालले आज आफ्नो पहिलो म्याच पपुवा न्यूगिनीसँग खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed