किरण श्रेष्ठ, तनहुँ । गएको मंसिरको आम चुनावका बेला देखिएको राष्ट्रिय चासो वैशाखको उपचुनावमा पनि देखिने पक्का भएको छ । राजनीतिक वृतमा यसै त चर्चित तनहुँ उपचुनाव हुने भए संगै माहोल रोचक बनेको छ ।

तनहुँ हटस्पट बन्दैछ, जहाँबाट यसअघि जितेका रामचन्द्र पौडेल भर्खरै राष्ट्रपति बनेका छन् । त्यस ठाउँमा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई पठाउने पक्का भएको छ । उनीसँग लड्नका लागि एमालेले पुर्व पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाललाई पठाउने भएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई २०७४ मा तनहुँ १ को (क)बाट प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए । तर उनि एमालेका राम बहादुर गुरुङसंग पराजित भए । भट्टराईले तनहुँ (क) मा १६ हजार ८७८ मत पाएका थिए भने गुरुङले १८ हजार २६५ मत पाएर प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।

यसपटक भट्टराई प्रदेशसभा सदस्य लड्न चाहेनन् । संघमा पौडेलले चुनाव लड्ने भएपछि गोविन्दको नाममा समानुपातिकमा राखिएको थियो । तर उनले समानुपातिकका नबस्ने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

एमालेबाट चुनाव लड्न लागेका खनाल मंसिरमा भएको निर्वाचनमा पराजित उम्मेदवार हुन् । तनहुँको भानु नगरपालिका–६ सिम्पानी  जन्मथलो भएका खनालको ४ मंसिरको चुनावमा काठमाडौं ६ बाट उठेका थिए। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले जितेका थिए।

यिनै दुई उम्मेदवारको बीचमा रोचक प्रवेश भएको छ स्वर्णिम वाग्लेको ।

यसअघि कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक रहेका वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी कांग्रेसकै तर्फबाट आयोगमा गए पनि पछिल्लो समयमा सभापति शेरबहादुर देउवाको हेपाइका कारण बस्न नसकेको जिकिर गर्दै पार्टी परित्याग गरेका छन् । रास्वपाले उनलाई तनहुँ १ मा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । वाग्लेको प्रवेशकै कारण अब तनहुँ १ को उपचुनाव पनि रोचक मोडमा पुग्ने पक्कापक्की भएको छ ।

यता नेकपा एकीकृत समाजवादीले आफ्नो गण्डकी प्रदेश सचिव प्रताप लाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । तर वैशाख १० मा मुख्य प्रतिष्पर्धा भने भट्टराई, खनाल र वाग्ले बीच हुने चर्चा तनहुँमा छ । यद्धपी तीनै जना तनहुँ-१ को लागी नयाँ उम्मेदवार हुन् ।

घटे मतदाता

वैशाख १० गते हुने उपनिर्वाचनको लागि तनहुँ-१ मा १८५ जना मतदाता घटेका छन् । यसअघि मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँ १ लाख २३ हजार ४९० मतदाता रहेका थिए ।

उपनिर्वाचनका लागि तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा १८५ घटी भइ १ लाख २३ हजार ३०५ मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ । वैशाख १० गते हुने उपनिर्वाचन हुने तनहुँ १ का १ लाख २३ हजार ३०५ जनाले मतदान गर्न पाउने भएका छन् ।

उपनिर्वाचन समेतका लागि निर्वाचन आयोगले बिहीबार अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ । जस अनुसार गतमंसिरको चुनावको तुलनामा तनहुँ १ मा मतदाता घटेका छन् । मृत्यु भएका मतदाता हटाउदा मतदाता घटेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिए ।

उपचुनावलाई ध्यानमा राखेर तनहुँ जिल्लामा चैत ६ गतेदेखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्ला दर्ता स्थगन गरिएको प्रमुख ढकालले बताए ।तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको छ ।

यस्तो छ तनहुँ-१ को निर्वाचन तालिका

बैशाख १० गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ निर्वाचनको तयारीमा जुटेको छ । ‘हामीसँग समय अत्यन्तै थोरैभएकाले अहिले निर्वाचन सामग्री व्यवस्थापन, मनोनयन दर्ताको लागि अनुसूची फारम छपाई गर्ने लगायको काम सुरु भइसकेको छ’ जिल्ला निर्वाचन अधिकृत ढकालले भने ।

शनिवार तनहुँ-१ को उपनिर्वाचनको लागि शनिबार निर्वाचन कार्यालय स्थापना गरिएको छ । १९ गते आज जिल्लाका राजनैतिक दल र पत्रकारसँग अन्तरक्रिया गर्ने, २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता, मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, चैत २२ गते उम्मेदवारको नामावली प्रकाशन, २३ गते उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन तालिका रहेको छ ।

बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ । जिल्ला निर्वाचन अधिकृत ढकालले निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारीको विवरण तयार पर्ने काम भइरहेको बताएका छन् ।

‘उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि चुनाव हुने दिन भन्दा ७२ घण्टा अघिसम्म उहाँहरूले चुनाव प्रचारप्रसार गर्न पाउनुहुन्छ’ ढकालले भने ।

गत मंसिर ४ को निर्वाचनमा रामचन्द्र पौडेल माओवादीसँगको गठबन्धनबाट विजयी भएका थिए ।

पौडेलले २५ हजार ३१८ मत ल्याएका थिए । यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उनले १९ हजार ९४३ मत ल्याएका थिए ।

यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *