तनहुँ । गोविन्दराज जोशी नेतृत्वको नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान जोशी समूहले प्रेस वक्तव्य जारी गरेको छ ।

उक्त वक्तयमा तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनौट गर्न समेत भनिएको छ ।

नेपाली काङ्ग्रेसका प्रतिनिधिहरूसँग भएको वार्ता आफुहरुलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस भएको वक्तव्यमा जनाइएको छ ।

सो वक्तव्यमा भनिएको छ ‘आजदेखि नेपाली काङ्ग्रेस सँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ ।’

यस्तो छ प्रेस वक्तव्य :

नेपाली काङ्ग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली काङ्ग्रेस सँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ । नेपाली काङ्ग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ जिल्ला क्षेत्र नं. १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार लाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ । जसले गर्दा सो वक्तव्यलाई हामीले अस्वीकार गरेको छौ । गोविन्द राज जोशी समेतको कारबाही फिर्ता भयो आदी कुरा भनि नेपाली काङ्ग्रेसद्वारा गरिएको प्रचार विल्कुल झूठोहो । उक्त वक्तव्यले नेपाली काङ्ग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस हामीले गरेका छौँ ।

जहाँ सम्म आगामी वैशाख १० गते सम्पन्न हुने उप-निर्वाचनको सन्दर्भ रहेको छ, यसमा हामीले हाम्रो उम्मेदवार खडा गरेका छैनौँ अर्थात् यो उप निर्वाचनमा हाम्रो कुनै आधिकारिक उम्मेदवार छैन । तनहुँ जिल्लामा हामीहरू कुनै पनि दल विशेषको सदस्य नभएकोले हामी स्वतन्त्र छौँ र स्वतन्त्र रही रहने छौँ । नेपाली काङ्ग्रेस पार्टीले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छल–कपट निर्वाचनको परिणामपछि स्पष्ट हुनेछ । यस विषयमा अहिले हाम्रो कुनै टिप्पणी छैन । वार्ताको क्रममा २०४७ सालको निर्वाचनपछि धेरै इमानदार साथीहरू पार्टीबाट विभिन्न कारणले अलग्गिएर बसेका छन् । आज नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउन र अहिलेको चुनौती सामना गर्न यी सबैको सहयोगको खाँचो छ भन्ने कुरा हामीले महसुस गरेका छौ । पार्टीबाट विभिन्न कारणले अलग्गिएका पार्टीका साथीहरूलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाऔँ भन्ने हाम्रो धारणा थियो र अहिले पनि छ । तनहुँ जिल्लाको मात्र समस्या समाधान गर्न नचाहने काङ्ग्रेस नेतृत्व यो बृहत् कुरामा सहमत हुने कुरै भएन । त्यसैले उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।

जहाँसम्म मतदानको प्रश्न छ यो उप-निर्वाचमा हाम्रो आधिकारिक उम्मेदवार नभएता पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ । त्यसैले मतदान गर्दा २१औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम , बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछ ।

अन्त्यमा,
सत्य, न्याय र सामाजिक समृद्धिका लागि हाम्रो लडाइँ सकिएको छैन । जसका लागि हामी सधैँ लडिरहने छौँ । अबको हाम्रो लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झन्डामा सीमित नभएर देश र जनताका लागिहुने छ । किनभने राष्ट्र र राष्ट्रियताभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन सक्दैन । जुन कुरामा न त हाम्रो हिजो विमति थियो न त आज नै ।

भिडिओ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *