तनहुँ-१ मा ६ उम्मेदवारको जमानत जफत, कस्को मत कति ?

Byकिरण श्रेष्ठ

१७ बैशाख २०८०, आईतवार १५:११ १७ बैशाख २०८०, आईतवार १५:११ १७ बैशाख २०८०, आईतवार १५:११

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा गत आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा ६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

तनहुँ-१ मा ९ जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विजयी भएका डा.स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमाले उम्मेदवार सर्वेन्द्र खनाल बाहेकका ६ जना उम्मेदवारको जमानत जफत भएको हो ।

१० प्रतिशतभन्दा कम मत ल्याएपछि उनीहरूको जमानत जफत भएको हो । तनहुँ-१ मा कुल मतदाता सङ्ख्या १ लाख २३ हजार ३०५ रहेकोमा ६३ हजार ७५७ मत खसेको थियो ।

तनहुँ-१ मा ३ जना उम्मेदवारबाहेक ६ उम्मेदवारले जमानत जफत जोगाउन सकेनन् । १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत हुनेमा राप्रपाकी शोभा गुरुङ रहेकी छिन ।

गुरुङले २१८ मत प्राप्त गरिन । यस्तै कुखुराको भाले चुनाव चिन्हबाट चुनाव उठेका मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाले १६६ मत पाए भने यसबाहेक अन्य उम्मेदवारले भने १०० मत पनि कटाउन सकेनन् ।

नागरिक उन्मुक्ति पार्टीका भीम बहादुर सुनारले ९९, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले ८७ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाएका छन् ।

उम्मेदवारहरूले चैत २० गते उम्मेदवारी मनोनयन दर्ता गर्दा १० हजार धरौटी जम्मा गरेका हुन्छन्  । सो रकम कुल सदर मतको १० प्रतिशत कटाउनेको हकमा फिर्ता हुन्छ भने १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारहरूको सो रकम जफत हुन्छ ।

गत आइतबार भएको उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९७ मतले पराजित गर्दै वाग्ले निर्वाचित भएका हुन् ।

तनहुँ-१ मा उम्मेदवारी दिएका मध्ये ३ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सकेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

सो उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९१९ मत ल्याए भने भट्टराईले २० हजार १२२ मत पाए । यस्तै एमाले उम्मेदवार खनालले ८ हजार ४८८ मत ल्याएका छन् ।

५ वटा स्थानीय तह र ४२ वटा वडा रहेको तनहुँ-१ मा गत मंसिर ४ गते भएको आम निर्वाचनमा ६ हजार ४४ मत मात्रै पाएर चौथो भएको रास्वपा अहिले करिब ३५ हजार मत पाएर विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *