दमौली । चालु आर्थिक वर्षको जेठ १२ गतेसम्म तनहुँका ९ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् ।
करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल २२ हजार ५०० सङ्घसंस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा ९ हजार ४३३ करदाताले आयकर विवरण नबुझाएका हुन् ।
गत वैशाख मसान्तसम्म करदाता सेवा कार्यालयमा आयकरतर्फको आय विवरण नबुझाउने करदातालाई आय विवरण बुझाउन पत्राचारतथा सूचना जारी गरिएको कार्यालय प्रमुख कर अधिकृत मदन बहादुर केसिले बताए ।
प्रत्येक आर्थिक वर्ष सकिएपछि असोज मसान्तभित्र आय विवरण बुझाउनुपर्नेमा करदाताले आय विवरण नुबझाएपछि पत्राचार तथाफोन सम्पर्क भइरहेको उनले जानकारी दिए ।
“कतिपयले व्यापार व्यवसाय छाड्नुभयो तर स्थायी लेखा नम्बर बन्द गर्नुभएको छैन”, उनले भने, “व्यापार व्यवसाय छाडेको भए समयमैस्थायी लेखा नम्बर स्थगन गर्न करदातालाई पत्राचार गरिएको छ ।”
व्यापार व्यवसाय सञ्चालन गर्न छाडे पनि थाहा नभएकै कारण यी समस्या देखिएका हुनसक्ने भएकाले वस्तुगत सङ्घसंस्था, जिल्लास्थित उद्योग वाणिज्य सङ्घमार्फत र स्वयं करदातालाई टेलिफोन वा म्यासेजमार्फत आयकर विवरण बुझाउन ताकेता गरिएकोउनले बताए ।
उनका अनुसार अब ४० प्रतिशत करदाताले कर बुझाउन बाँकी रहेको छ । उनिहरुलाई फोन र मेसेज मार्फत जानकारी गराइएको उनले बताए ।
केहिलाई चिठ्ठी समेत काटिएको र केहि कर नतिर्ने ठुला करदाताको विवरण पत्रिकामा समेत निकालिएको उनले जानकारी दिए ।
समयमै आयकर नबुझाउने करदातालाई आन्तरिक राजस्व कार्यालयबाट आयकर ऐन २०५८ अनुसार अन्य कानुनी कारबाही तथा विलम्बशुल्क लिने व्यवस्था रहेको छ ।
करदाता सेवा कार्यालयले पत्राचार गरेसँगै विवरण बुझाउन सम्पर्कमा आई विवरण बुझाउन थालेकाले सङ्ख्या घट्दै गएको छ ।