तनहुँ । पछिल्लो एक वर्षयता व्यासमा ‘होम डेलिभरी’ हुनेको सङ्ख्या न्यून भएको छ । व्यास नगरपालिकाले वडा–वडामा स्वास्थ्य चौकी र केहिमा बर्थिङ सेन्टर स्थापना गरी स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि ‘होम डेलिभरी’ हुनेको सङ्ख्या न्यून भएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नगरपालिकाले रु ५ हजार प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले जानकारी दिईन । चालु आर्थिक वर्षमा ८७ जनाले सो प्रोत्साहन रकम पाएको उपप्रमुख दरैले बताईन । उनको अनुसार यहि चालु आवदेखि गर्भवतीसंग उपमेयर कार्यक्रम सुरु भएको हो ।

‘गर्भवती संग उपमेयर’ कार्यक्रम अन्तर्गत नेपाल सरकारले बनाएको मापदण्डअनुसार आठपटक स्वास्थ्य संस्थामा गएर गर्भपरीक्षण गराएपछि नगरपालिकाले यो सुविधा दिने गरेको उपप्रमुख दरैको भनाइ छ । व्यासका कुनै पनि स्वास्थ्य संस्थामा गर्भवती हुन नसकी अन्य कुनै अस्पतालमा पठाउनु परे नगरपालिकाले यातायात खर्चसमेत दिने व्यवस्था गरेको उनले बताईन ।

व्यास नगरपालिका भित्रका गर्भवती महिलालाई पोषणयुक्त खानेकुरा खान सहयोग पुर्याउने उद्देश्यका साथ सो कार्यक्रम संचालनमा ल्याइएको उपप्रमुख दरै बताउछिन । नगरपालिका भित्रका १०५ जना स्वास्थ्य स्वयंसेविका मार्फत सचेतनामुलक कार्यक्रम वडा र टोलमा संचालन भईरहेको उनि बताउछिन ।

नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने महिलाको सङ्ख्यामा कमी आएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । पछिल्लो समय ग्रामीण क्षेत्रका महिला पनि सचेत र शिक्षित बन्दै गएपछि घरमा सुत्केरी हुने महिलाको सङ्ख्या घटेको उनी बताउछन् ।

उनले भने, “विगतमा धेरै महिला दिदीबहिनीले स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गमाउनुपर्यो, दुर्गम बस्तीका महिलालाई सुत्केरी बिमार लाग्छ, घरमा सुत्केरी नभएपछि परिवारले ढिला अस्पताल लैजान्छन्, ढिला अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी हुने, त्यसरी बाटोमा सुत्केरी हुँदा कहिले बच्चाको मृत्यु हुने कहिले आमाको मृत्यु हुने अवस्था थियो, अहिले यहाँ त्यस्तो समस्या छैन, हरेक बस्तीको पायक पर्ने ठाउँमा स्वास्थ्यचौकी, बर्थिङ  सेन्टर छन्, त्यहाँबाट सेवा प्रदान गर्न थालेपछि आमा र बच्चाको मृत्यु कम भएकोपाएको छु भने घरमा सुत्केरी हुने परम्परा पनि हटेको छ ।”

महिला पहिलो स्वास्थ्य संस्थामा जाँच गर्न आउँदादेखि नै उनीहरूलाई परामर्श दिने गरेको र सोही अनुसार महिला सचेत बन्दा ‘होमडेलिभरी’ कम भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सोती बताउछन् । उनले आवश्यकताका आधारमा नगरपालिकाले दुर्गम स्थानमा स्वास्थ्य चौकी स्थापना गरेपछि स्थानीय गर्भवती महिलाले गाउँमै स्वास्थ्य परीक्षण गराउन पाएको र स्वास्थ्यकर्मीले समय–समयमा ‘होमडेलिभरी’ गर्न नहुने बारेमा जानकारी गराउने हुँदा नगरपालिकामा ‘होमडेलिभरी’ न्यून हुन पुगेको जानकारी दिए ।

“पहिले–पहिले ग्रामिण क्षेत्रमा घरमै सुत्केरी भएको भन्ने सुनिन्थ्यो, अहिले व्यासमा ‘होमडेलिभरी’को अवस्था न्यून छ, अहिले वडा–वडामा स्वास्थ्य चौकी स्थापना भएका छन्, स्वास्थ्य सेवाको पहुँच पनि सहज बनेको छ, त्यसमाथि महिला दिदीबहिनी पनि सचेत र शिक्षित बन्दैजानु भएको छ”, स्वास्थ्य प्रमुख सोतीले भने, “मान्छे शिक्षित भयो भने धेरै समस्या समाधान हुने रहेछ, हामीले पनि गर्भवती भएर स्वास्थ्य जाँचका लागिआएको पहिलो पटकदेखि नै काउन्सिल गरिरहेका हुन्छौँ, त्यसले गर्दा पनि हाम्रो नगरपालिकामा ‘होमडेलिभरी’ न्यून बनेको हो ।”

बर्थिङ सेन्टर र स्वास्थ्य चौकीकै कारण मातृ र शिशु मृत्युदर पनि न्यून भएको जनाइएको छ ।  केहिवर्ष अगाडिसम्म फाट्टफुट्ट आमा तथा शिशुको मृत्यु हुनेगरेको भए पनि अहिले त्यो समस्या नभएको स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।

व्यास नगरपालिकामा ५ वटा बर्थिङ सेन्टर (दमौली अस्पतालसहित), १० वटा स्वास्थ्यचौकी, एउटा नगर ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ८ वटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । २ सामुदायिक स्वास्थ्य इकाइको व्यवस्थापन गरिएको उनको भनाइ छ । पालिकाले गजुरे स्वास्थ्य चौकी गौजौडे, केशवटारको कातिके चौर स्वास्थ्य चौकी र सतिस्वारा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *