तनहुँ । नेपाल कै प्रसिद्ध धार्मिक स्थल मध्ये छाब्दी बाराही मन्दिर एक हो । तनहुँको पवित्र तीर्थस्थल हो–छाब्दी बाराही ।
व्यास नगरपालिका–१४ मा अवस्थित मन्दिरमा बाराहीको मूर्ति छ । सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ। मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन्।
यहाँ भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ । छाब्दी वराही र तनहुँ कै ढोर बाराही मन्दिर दिदि बहिनी मानिन्छन् ।
मन्दिरको ११ महिनाको आम्दानी ४९ लाख
छाब्दी बाराही मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा ४९ लाख भन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो ।
चालु आवको साउनदेखि जेठ २६ गतेसम्म ४९ आम्दानी भएको छाब्दी बाराही विकास कोषका उपाध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
‘गत वर्षको असारसम्म कोषको आम्दानी ६३ लाख थियो’, उनले भने, ‘चालु आर्थिक वर्षको हालसम्म ४९ लाख आम्दानी भएकामा विभिन्न शीर्षकमा ३४ लाख खर्च भएको छ ।
मन्दिर पुन:निर्माण हुँदै
छाब्दी बाराही मन्दिरको जीर्णोद्धारको काम पुरातात्विक भक्तपुरे इँटाको प्रयोग गरी मन्दिर निर्माण र मन्दिरको छाना तामाको पाताले छाउन काम सुरु गरिएको छ ।
गत वैशाख २० देखि सुरु गरी साउनसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छाब्दी बाराही विकास कोषका उपाध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । तर, मन्दिर पुन:निर्माणका लागी कोषमा रकम अभाव रहेको उपाध्यक्ष थापा बताउछन । उनका अनुसार अगीले कोषमा करिब १५ लाख बचत रहेको छ । सो रकम पुन:निर्माणका लागी अपुग छ ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालयमार्फत मन्दिरको छाना तामाको पाताले छाउन रु १५ लाख विनियोजन भएछ तर पुन:निर्माणका लागी अन्य ८० लाखको लागत लाग्ने अनुमान गरिएको उपाध्यक्ष थापाले जानकारी दिए । मन्दिरको निर्माण कार्य भइरहे पनि पूजाअर्चनाका लागि आउने भक्तजनलाई कुनै किसिमको बाधा नपुग्ने गरी काम गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
‘प्रदेश सरकारले विनियोजन गरेको बजेटले छाना छाउन पुग्नेछ ।’ उनले भने, ‘मन्दिरको अन्य भौतिक संरचना निर्माणका लागि मन्दिर संरक्षण विकास कोष, चन्दा सङ्कलन र स्थानीय श्रमदानबाट काम गर्ने योजना छ ।’
मन्दिरको संरचना निर्माणलगायतका कामका लागि करिब रु ८० लाखको लागत अनुमान रहेको मन्दिर पुनर्निर्माण समितिले जनाएको छ । विकास कोषले १० जना कर्मचारी र पुन:निर्माणको लागी मन्दिरमा हुने आम्दानीबाट खर्च व्यवस्थापन गरेको उपाध्यक्ष थापाले बताए । छाब्दी बाहारी मन्दिरमा ३ जना मूल पुजारी रहेका छन् । यस्तै विकास कोषले मूल पुजारीको सहयोगका लागी २ जना सहायक पुजारीको व्यवस्था समेत गरेको छ ।
विकास कोषले कुलुङदेखि बेलभन्ज्याङसम्मको पुर्वाधार निर्माण समेत सहयोग गर्दै आएको उपाध्याक्ष थापाले जानकारी दिए ।
छाब्दी बाराही मन्दिर
छाब्दीमा माछा मरेमा पुजारीले हिन्दु धर्म अनुसार कोरामा बसेर विधिपुर्वक किरीया बस्नुपर्ने नियम छ । औशी, एकादशी र साउन महिनामा भने बलि दिने वा पुजा गर्ने चलन छैन । व्यास ऋषिकी आमा मत्श्य कन्याले छाब्दी देवीको रुपधारण गरी उक्त स्थानमा उत्पति भएकोले पुजा हुदै आएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । वि.स १८०० जेठ महिनाबाट छाब्दीमा पुजा सुरु भएको थियो । जहर सीं आलेमगरको गाई गोठमा बास माग्न गएकी बालिकाको रुपधारण गरेकी देवीको निर्देशन अनुसार पुजा सुरु गरिएको थियो ।
धेरै वर्ष अघि थाहा नै नभई शिवजी को विर्य पान गरेको एक माछालाई माझीले जालमा पारेछन् । सन्तान नभएका माझीले काटेर हेर्दा कन्या देखेछन् र लालपालन आफैले गर्दै जादा विस्तारै माझी बुढो हुँदै गए । उनी बुढो भएकोले ती कन्या आफैले डुङ्गा चलाउन थालिन् ।
एक दिन परासर ऋषि पारी तर्न लाग्दा देवी रुपी कन्याको रुप देखेर तत्कालै कुहिरो उत्पन्न गराई संभोग गरे र गर्भ बस्यो । तिनै कन्याको कोखबाट वेदव्यासको जन्म भयो । आफु कन्या हुँदा हुदै आमा भएर सबैको आँखामा नराम्रो भएको गुनासो गरेपछि वेदव्यासले आमालाई भनेछन्, “आमा म हजुरलाई पुर्व दिशामा रहेको पवित्र ठाउँमा कुण्ड बनाई एक सय तीन स्थानको पवित्र जल ल्याएर कुण्डमा राख्नेछु जहाँ कलियुगमा तपाइँलाई छाब्दी बराही देवी भनेर सबैले पुजा गर्नेछन् । ”
वि.स १८०० मा एक साझमा देवी बालिकाको रुप धारण गरी श्री जहरसी आलेमगरको गाई गोठमा बास माग्न पुगेछन् । मगरले बास दिन्छु तर खान चाही दिन
सक्दिन भनेपछि, “ मलाई केही चाहिदैन म बाराही देवी हु म तलको कुण्डमा शिला भई उत्पन्न हुन्छु तिम्रो सन्तानले मेरो पुजा अर्चना गर्नु । ” भनेर हराएछन् ।
भोली पल्ट जहरसीं आलेमगर कुण्डमा गएर हेर्दा शिला भेटेकाले त्यस दिन देखी नै उनी र उनका सन्तानहरुले पुजा अर्चना गर्दै आएका छन् ।
कसरी पुग्ने ?
काठमाडौं–दमौली १५० कि.मी. बसमा ५-६ घन्टा । दमौली–छाब्दी बाराही ७ किलोमिटर पक्की सडक । दमौलीको गणेशमान चोकबाट छाब्दीसम्म सार्वजनिक गाडी चल्छ ।
मनोकामना पुर्याइदिने देवी
मूल पुजारी, चोल बहादुर आले
छाब्दी बाराहीको महिमा ठुलो छ। तीर्थालुहरू मनले चिताएको कुरा पुरा होस् भनेर देवीको पूजा गर्छन्। कोही सुस्वास्थ्यको कामना गदर्छन्। कोही सन्तान माग गर्दछन्। कोही लाहुरे बन्ने कामना गर्दछन्। देवीले मनोकामना पुरा गरिदिनु हुन्छ। भाकल पुरा भएपछि कुखुरा, बोका र परेवा ल्याउँछन्। काठमाडौं, पोखरा र नारायणगढ लगायत देशैभरबाट तीर्थालु आउँछन्।