किरण श्रेष्ठ, दमौली । मान्छेका आफ्नै रुचि र इच्छा हुन्छन् । कोही त्यही रुचि र इच्छाअनुसार पाएको सफलतामा रमाएका हुन्छन् भने केही भने साना सफलताबाट पनि त्यति खुसी हुन सकेका हुँदैनन् । फिटनेस र तन्दुरुस्तीमा रमाएका तनहुँ दमौलीका सन्तोष श्रेष्ठ अहिले उदाहरणीय पात्र बनेका छन् ।
व्यस्त जीवनशैलीका बाबजुद पनि शारीरिक तन्दुरुस्ती र फिटनेसको लागि मानिसहरू व्यायाम गर्ने गर्दछन् । समयको परिवर्तन अनुसार खेतीबारीको कामबाट परिवर्तन हुँदै मर्निङवाकदेखि जिम हाउससम्म पुगेर आफूलाई फिट राख्नेको कमी छैन ।
अव्यवस्थित खानपान र अस्तव्यस्त जीवनशैलीले पुट्ट निस्केको भुँडी घटाउन जिम हाउस पुग्ने हुन वा साह्रै दुब्लो भएर मोटाउन जिम पुग्ने हुन सबैको ध्यान तान्छन् ‘द बुल्स जिम’का संचालक सन्तोष श्रेष्ठले ।
पेशाले जिम प्रशिक्षक श्रेष्ठले गत २०७९ चैत १० सम्पन्न भएको क्षेत्र स्तरीय मिस्टर पोखरा शारीरिक सुगठन प्रतियोगिताको उपाधि ७ प्रतिस्पर्धीलाई पछि पार्दै ओभरअल च्याम्पियन बनेका हुन् । ७५ केजी तौल समूहका विजेतासमेत रहेका सन्तोषले उपाधि सहित २० हजार रुपैयाँ, ट्रफि र मेडलसहित विभिन्न उपहार प्राप्त गरे ।
यो पुरस्कार उनले सहजै जित हात पारेका भने होइनन् । तनहुँको आँबुखैरेनीमा २०४४ जेठ २ जन्मिएका श्रेष्ठ हाल दमौलीमा नै दैनिक बिहान ५ बजे जिम आइपुग्छन् । व्यास-३ दमौली स्थिति निमचोकमा रहेको द बुल्स जिममा आउने सबैले श्रेष्ठसँग यस्तै शरिर बनाउने टिप्स माग्ने गरेको बताउँछन् । उनी भन्छन्,‘शरीर फिट भएको सबैलाई मन पर्छ, मेरो शरिर मन परेर आफ्नो पनि यस्तै बनाउन टिप्स माग्ने धेरै हुनुहुन्छ । जिममा आउनेले त भन्नु नै हुन्छ बाहिरको साथीहरुले पनि भन्नुहुन्छ ।’
श्रेष्ठको शारीरिक तन्दुरुस्ती र शारीरिक कसरतकै कारणले विभिन्न कार्यक्रममा अतिथिका रुपमा फिटनेस बारे बताउन निमन्त्रण आउने गरेका छन् । उनि थप्छन ‘दमौली र आसपासका युवाहरुलाई फिजिकल फिट बन्नुपर्छ भन्ने सन्देश दिन सकेको छु ।’
२०६८ सालबाट जिम शुरु गरेका श्रेष्ठले अहिलेसम्म नियमित रुपमा जिममा शारीरिक कसरत गर्दै आएका छन् । कोरोना महामारीमा लकडाउनले जिम हाउस बन्द भएको ३ महिनाको समयमा जिममा श्रेष्ठले एक्लै कसरत गरेको स्मरण गर्छन् । उनी भन्छन्,‘मैले जिम शुरु गरेदेखि नियमित आइरहेको छु । कोरोना कालमा १५ दिन घर र बाँकी समय जिममा एक्लै कसरत गरे ।’
श्रेष्ठको आफ्नै जिम हाउस भएकाले त्यहि खाने, बस्ने र जिम गर्न सजिलो भएको उनि बताउछन । उनलाई शरीर देखेर सोध्नेहरुले के खान्छस्, कति खान्छस् भन्ने गरेको बताउँदै शारीरिक सुगठनकै लागि सप्लिमेन्ट नै विकल्प नभएको उनी बताउँछन् । उनले शरीरको बनावट परिवर्तन र सहि ढंगले परिवर्तन गर्नको लागि समय लाग्ने बताउँदै कुनैपनि सर्टकर्ट विधिको प्रयोगगर्न नहुने बताउँछन् ।
श्रेष्ठ भन्छन्– ‘नयाँ नयाँ जिममा आउनेहरुलाई मेरो जस्तै शरिर बनाउन मन हुन्छ तर मैले त यो सब १२ वर्ष लगाएर बनाएको हो । यो कुरा बुझ्दैनन् । सप्लिमेन्ट माग्ने गर्छन् । ’शरीरको विकास हुनको लागि कसरत, खानपान, आराम सबैको व्यवस्थापन सहि हुनुपर्ने बताउँदै श्रेष्ठले यसो नभएमा शरिरको बनावट झन बिग्रने बताउँछन् ।
सप्लिमेन्ट जिम आएको ६ महिना पछि मात्रै दिने गरेको छु त्यहाँ भन्दा अगाडी त आफुलाई बेच्दा नाफा हुने भएपनि नबेच्ने गरेको श्रेष्ठ बताउछन । आफु जिममा आउनेलाई व्यवहारिकसहित सैद्दान्तिक ज्ञान दिने गरेको उनि बताउछन । उनि भन्छन, ‘व्यक्तिको उमेर, उचाइ र तौल हेरेर डाइट प्लान बनाइदिने गरेको छु ।’
फिटनेस खर्चिलो नभएको श्रेष्ठ बताउछन । उनका अनुसार आफुले कसरी व्यवस्थापन गरिन्छ त्यसमा भर पर्ने हो । नेवार समुदायका श्रेष्ठको स्वभाव बाल्यकालदेखि नै शारीरिक कसरतमा बढी ध्यान दिने थियो । साथीहरु सँग पनि कुरा हुँदा बडी(फिगर)कै कुरा हुने गरेकोले यसमा विशेष चासो बढ्दै गएको बताउँछन् ।
सुरुवातमा परिवारलाई शारीरिक कसरतको बारेमा थाहा नभएको तर आफुले फिटनेस तर्फ लागेको थाहा पाएपछि परिवारको साथ् सहयोग रहेको श्रेष्ठ बताउछन । उनि थप्छन ‘विवाहपछि अहिले त झन श्रीमतीको पनि साथ सहयोग पाएको छु ।’
२०७० साल यता श्रेष्ठ धेरैजसो प्रतियोगिताहरुमा सहभागी हुँदै आएका छन् । पटक पटकको विजयी हुनबाट रोकिदा पाठ सिक्दै श्रेष्ठले आफूलाईअब्बल बनाउँदै २० हजार राशीको मिस्टर पोखराको उपाधि जित्न सफल भए ।
तर पहिलो पटक २०७० मा नेपालगन्जमा भएको मिस्टर नेपाल ६५ केजिको प्रतिस्पर्धामा उनी टप ५ भए । तर त्यसगलत्तै २०७० मै भएको मिस्टर पर्फेक्ट सहभागी भए । यसमा भने उनी आफ्नो तौल ६५ केजीमा सेकेण्ड रनरअप बन्न सफल भए । त्यसपछि २०७६ मा भएको मिस्टर पोखरा ६५ केजीमा पनि सेकेन्ड रनरअप भए । तर उनि आफ्नो कर्म गर्न सधैव लागिरहे ।
‘अब अर्को वर्ष हुने राष्ट्रिय स्तरीय प्रतियोगितामा ७५ केजीको लागी तयारी गरिरहेको छु ।’ श्रेष्ठले भने । श्रेष्ठ अहिले सर्टिफाइड कोचको रुपमा आफ्नै जिम हाउस ‘द बुल्स जिम’ संचालन गरिरहेका छन् । यस अलावा उनि अहिले नेपाल शारीरिक सुगठन तथा फिट्नेस तनहुँको अध्यक्ष, नेपाल पावरलिफ़्टिङ्ग संघ तनहुँको अध्यक्ष र गण्डकी प्रदेशको सदस्य रहेका छन् ।
२०७० सालमा आँबुखैरेनीमा पहिलो पटक जिम हाउस खोलेर सुरुवात गरेका श्रेष्ठले त्यसको २ वर्ष पछि २०७२ मै तनहुँके डुम्रेमा अर्को जिम हाउस संचालनमा ल्याए । त्यहाँ राम्रो हुँदै गएपछि दमौलीमा २०७४ मा जिम हाउस खोलेको उनि बताउछन । दमौलीमा जिम हाउस खोल्नुको कारण बारे श्रेष्ठ यसो भन्छन ‘दमौलीमा अर्को एक जना भाईको लागी जिमको सामान ल्याइदिएको तर पछि त्यो भाई सम्पर्कविहिन भएपछि आफैले जिम हाउस सुरु गरेको हुँ ।’
सुरुवातमा दमौलीमा आउँदा यहाँ गलत तरिकाले जिमको कोचिङ्ग भएको पाएको श्रेष्ठ बताउछन । सुरुमा बुझाउन निक्कै गाह्रो परेको उनि सम्झिन्छन । पहिले जिम जानु भने तौल घटाउनु र डोलेसोले बनाउनु मात्रै हो भन्ने गलत बुझाइ रहेको पाइएको उनि बताउछन ।
तर अहिले दैनिक कसरत नै जिम हो भन्ने सचेतना बढ्न थालेको श्रेष्ठ बताउछन । अहिले उनको जिम हाउसमा १४ वर्षको बालक देखि ७३ वर्षसम्मको जेष्ठ नागरिकसम्म आउने गरेको छ । त्यस्तै अहिले महिला पुरुष लगभग बराबर जस्तो नै जिम हाउस आउने गरेको उनि बताउछन् । उनको जिममा अहिले १५० भन्दा बढीले दैनिक जिम गर्न जाने गरेका छन् ।
उनका अनुसार दिनमा ४५ देखि १ घण्टा कसरत गर्नुपर्छ । दैनिक १ घण्टा आफ्नो शरीरलाई दिंदा धेरै रोगबाट छुटकारा पाउन सकिने श्रेष्ठ बताउछन । उनि थप्छन ‘जिम भनेको फिटनेसको लागी हो ।’