व्यासको न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट

Byखवरबाटिका

२८ श्रावण २०८०, आईतवार १७:३३ २८ श्रावण २०८०, आईतवार १७:३३ २८ श्रावण २०८०, आईतवार १७:३३

दमौली । तनहुँको व्यास नगरपालिकामा एक वर्षमा २० उजुरी फर्छ्यौट भएका छन् । गएको आर्थिक वर्ष २०७९–०७०मा परेका ५४ उजुरीमध्ये अधिकांश मेलमिलापबाट समाधान गरिएको उपप्रमुख एवंम् न्यायिक समिति संयोजक इन्दिरा दरैले जानकारी दिईन् । जसमध्ये १३ वटा मिलापत्रबाट फछ्र्यौट भएका छन् ।

७ वटा उजुरी सर्वसम्मत ढङ्गबाट फर्छ्यौट भएका छन् । नगरपालिकाको न्यायिक समितिमा ३८ वटा उजुरी प्रक्रियामा रहेको संयोजक दरैले बताईन् । आ.व. ०७९–०८० मा अघिल्लो वर्षको १० वटा उजुरी सारिएको बताइएको छ । पालिकामा सबैभन्दा धेरै जग्गा विवादका उजुरी रहेको नगरपालिका न्यायिक समितिको सचिवालयले जनाएको छ ।

जग्गाको साँध सिमाना मिचेको, भोग चलन गरेको जग्गाबाट हटाउन खोजेको, एकको नाममा रहेको जग्गा अर्कैले भोग चलन गरेको, पति पत्नीबीचको विवाद, घरेलु हिंसालगायतका विषयमा उजुरी दर्ता हुने गरेका छन् । नगरपालिकाले वडाबाटै मेलमिलाप गराउन हरेक वडामा मेलमिलाप केन्द्र पनि बनाएको छ ।

वडाले फर्छ्यौट गर्न नसकेको उजुरी नगरपालिकामा आउने गरेको उपप्रमुख दरैले बताईन् । उनले भनिन्,“वडातह बाटै हामीले मुद्धालाई मिलापत्र गर्न लगाउछौं, वडामा रहेको मेलमिलापले नसकेपछि न्यायिकमा दर्ता गराई उजुरीको छिनोफानो गराईन्छ । ” उनले अघि भनिन्,“३ देखि ५ पटक सम्म एउटै उजुरीमा छलफल गराउदाँ उजुरीको छिनोफानोमा समय लाग्ने गरेको छ । हामीले मिलापत्रबाटै उजुरीको छिनोफानो गराउनेमा जोड दिने गरेका छौं । ” चालु वर्ष ०८० –८१ म ३ वटा मुद्दा दर्ता भएका छन् । जसमा चालु वर्ष र अघिल्लो वर्षको १÷१ मुद्धाको फर्छ्यौट भएको छ भने दुई वटा उजुरी प्रक्रियामा रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (२) अनुसार पेस भएको विवादको निवेदनको कारबाही र किनारा गर्दा सम्भव भएसम्म मेलमिलाप गर्न प्रोत्साहित हुने गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *