तनहुँ जलविद्युत् आयोजना: ४३ प्रतिशत प्रगति

Byखवरबाटिका

३१ भाद्र २०८०, आईतवार १०:१८ ३१ भाद्र २०८०, आईतवार १०:१८ ३१ भाद्र २०८०, आईतवार १०:१८

दमौली । तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत भएको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना तीन वटा प्याकेजमा काम अगाडी बढिरहेको छ ।

आयोजनाको निर्माण सुरु भएको ४ वर्षमा ४३ प्रतिशत प्रगति भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । संचालक श्रेष्ठका अनुसार प्याकेज–१ अन्तर्गत बाँध निर्माण २५ प्रतिशत, प्याकेज २ अन्तर्गत विद्युत् गृह निर्माण ४५ प्रतिशत र प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण ६९ प्रतिशत भौतिक प्रगति भएको छ ।

यस्तै वित्तिय प्रगति ४० प्रतिशत रहेको संचालक श्रेष्ठले जानकारी दिए । ‘प्याकेज तीन अन्तर्गत वनको नीतिगत समस्याका कारण हुनुपर्ने भन्दा कम काम भएको  छ ।’ उनले भने ‘यसबारेमा सम्बन्धित मन्त्रालयमा समस्या समाधानका लागि पहल भइरहेको छ ।’

आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटान लगायतका निर्माण कार्यहरु भइरहेका छन् । ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२ को वारपार गरी (ब्रेक थ्रु) कंक्रिट लाइनिङको काम भइरहेको छ । उक्त प्याकेजको भौतकि प्रगति २५ प्रतिशत रहेको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिए ।

त्यस्तै प्योकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्यहरु गरिरहेको छ । विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्यांक निर्माण कार्य जारी रहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये हाल ११ सय भन्दा बढि मिटर खन्ने कार्य सम्पन्न भईसकेको छ । उक्त प्याकेजको भौतिक प्रगति ४५ प्रतिशत रहेको छ ।

प्याकेज–३ अन्तर्गत केईसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनका ९६ वटा टावर निर्माण गर्ने छ । जसको भौतिक प्रगति ६९ प्रतिशत भईसकेको छ ।

तनहुँ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत विद्यालय भवन, सडक, अस्पताल, खानेपानी, तटबन्ध निर्माणको क्षेत्रमा काम गरेको संचालक किरण कुमार श्रेष्ठले बताए ।

यसैगरि तनहुँ जलविद्युत आयोजनाको अर्को आयोजनाको रुपमा सराङघाट नजिकै १२६ मेगावाटको तल्लो सेती आयोजना निर्माण हुने श्रेष्ठले बताए । उक्त आयोजना हाल अध्ययनको क्रममै रहेको उनले जानकारी दिए ।

आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । जसको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *