अन्तराष्ट्रिय तनहुँ समाजको बृहत भेला तथा घोषणा सभा दमौलीमा सम्पन्न

Byखवरबाटिका

२८ आश्विन २०८०, आईतवार १०:४६ २८ आश्विन २०८०, आईतवार १०:४६ २८ आश्विन २०८०, आईतवार १०:४६

तनहुँ । तनहुँ स्थायी घर भइ विभिन्न शिलशिलामा परदेशमा रहेका तनहुङ्गेहरुको संस्था अन्तराष्ट्रिय तनहुँ समाजको बृहत भेला तथा घोषणा सभा शनिवार दमौलीमा सम्पन्न भएको छ । संसारभर रहेका तनहुँवासीहरुलाई एकीकृत गरि जिल्लाको बिकासमा योगदान गर्ने उद्देश्यले स्थापित अन्तराष्ट्रिय तनहुँ समाजको केही समय अघि मात्र तदर्थ समिति गठन गरिएको थियो ।

भचुर्अल माध्यमबाट सबै प्रवासी तनहुङ्गेहरुको बृहत भेला आयोजना गरि राजन त्रिपाठीको अध्यक्षतामा गठित तदर्थ समितिको आज औपचारिक रुपमा घोषणा तथा प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री शंकर भण्डारीले समाजका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। सोही अवसरमा बोल्दै भण्डारीले जिल्लामा प्रशस्त सम्भावना हुदाहुदै पनि अपेक्षित विकास हुन नसकेको बताए ।

“हामीसँग कृषि, पर्यटन, जलस्रोत सबैको सम्भावना भएर पनि हाम्रै कमी कमजोरीले अपेक्षित विकास भएन,अब भने सबैले सहकार्य गरि तनहुँ बनाउनुछ“उनले भने । तनहुँमा भएका सम्भावनालाई अधिकतम प्रयोग गरि जिल्लाको समस्या समाधानका लागि सहकार्य गर्न उनले अन्तराष्ट्रिय तनहुँ समाजलाई अनुरोध समेत गरे ।

“देशको स्थिती दिनानुदिन खस्किदै गइरहेको अवस्थामा अब देशको नेतृत्व सच्चिन आवश्यक छ भण्डारीले भने, नेतृत्वमा देश र जनताप्रतिको प्रेम भएन भने नागरिकले दुख पाउदा रहेछन भन्ने अनुभूत भएको छ“ । अब नेतृत्वले आफ्ना कमीकमजोरी सुधार्दै जनताको हितमा केन्द्रित हुनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री दोबाटे बिक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा माओवादीका रामचन्द्र सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका अध्यक्ष विकास सिग्देल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अबदेश बिष्ट क्षेत्री, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले लगायतले शुभकामना मन्तव्य राख्दै समाजले भाइचारा र एकताको सन्देश प्रवाह गरेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा समिति घोषणा गर्दै अध्यक्ष त्रिपाठीले तनहुँको समुन्नत बिकासका लागि प्रतिवद्ध रहने भावनाका साथ अन्तराष्ट्रिय तनहुँ समाज जन्मिएको बताए । “तनहुँको समृद्धि र बिकासको चाहनाले स्थापित यस संस्थाले राजनीतिबाट टाढा रहेर बिकासका लागि जिल्लाबासीसँग काधमा काध मिलाएर काम गर्ने योजना बनाएको छ“उनले भने । साथै जिल्लाको कुना कुनामा पुगेर संघ प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरि उत्पादनमुलक क्षेत्रमा लगानी, शिक्षा, स्वास्थ्य लगायत अन्य पूर्वाधार निर्माणका साथै विभिन्न युवा लक्षित कार्यक्रम गर्ने उनले योजना प्रस्तुत समेत गरेका थिए ।

संस्था स्थापनाको उद्देश्य र औचित्य माथि प्रकाश गर्दै समाजका महासचिव रविचन्द्र भट्टराईले समृद्ध तनहुँको हुटहुटी बोकेर अन्तराष्ट्रिय तनहुँ समाजको स्थापना भएको बताए । संसारभर रहेका तनहुँबासीको ज्ञान, सीप र क्षमतालाई एकीकृत गरि जिल्लाको विभिन्न क्षेत्रमा योगदान गर्ने लक्ष्य समाजले राखेको उनले जानकारी दिए । “पूर्वाधार निर्माणसँगै समग्र जिल्लावासीको स्तर उकास्ने अभियानमा समाज लाग्नेछ“उनले भने ।

सोही अवसरमा तनहुँ अमेरिका समाजका संरक्षक कृष्णजीवि पन्थ, तनहुँ समाज कतारका सल्लाहकार करिमबक्स मियाँ, तनहुँ समाज युएइका सल्लाहकार हिरालाल श्रेष्ठ तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङले बिगतमा समाजले गरेका कामको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष राजन त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष दिपक खड्काले स्वागत मन्तव्य राखेका थिए भने पत्रकार पवन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box