तनहुँमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो, ६ जनाको मृत्यु

Byकिरण श्रेष्ठ

२८ आश्विन २०८०, आईतवार १०:२२ २८ आश्विन २०८०, आईतवार १०:२२ २८ आश्विन २०८०, आईतवार १०:२२

दमौली । तनहुँको दमौली बजारमा डेंगुको संक्रमण बढ्दै गएपछि व्यास नगरपालिकाले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान नै चलाए पनि दमौलीमा डेंगु संक्रमितको संख्या बढेको बढ्यै छ । डेंगुको संक्रमण असोज महिनाको अन्तिम सम्म आइपुग्दा ५ हजार ४ सय १७ जनामा पोजिटिभ देखिएको छ ।

डेंगु रोग नियन्त्रणकाे प्रयासमा व्यास नगरपालिकासहित तनहुँको स्वास्थ्य कार्यालय, विभिन्न सामाजिक संस्थाले अभियान नै चलाएका छन् । तर पनि डेंगु संक्रमितको संख्या बढ्दो छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कमा असोज २७ गतेसम्म ५ हजार ४ सय १७ जना डेंगु संक्रमित देखिएको छ । तर तनहुँका संक्रमितको संख्या अझै धेरै भएको अनुमान गरिएको छ । कतिपय बिरामीले आफूलाई पायक पर्ने निजी अस्पताल, क्लिनिक र औषधि पसलबाट उपचार गराएका छन् जुन तथ्याङ्कमा छैन स्वास्थ्य कार्यालय संग पनि छैन । किनकि, उपचार गर्ने सबैको ल्याव परीक्षण गरिएको छैन ।

तनहुँमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । गत असार १६ मा व्यास– १० का ३५ वर्षीय पुरुष, असोज ८ गते एकैदिन दुई जना बालबालिकाको डेंगु संक्रमणबाट ज्यान गुमाए । असोज ८ गते व्यास नगरपालिका– २ की १३ वर्षीया बालिका र भानु नगरपालिका– १२ का ५ वर्षीय बालक रहेका छन् । असोज २ मा व्यास– ११ का १५ वर्षीय किशोर र गत असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै असोज २५ गते व्यास-४ का ५ वर्षीय बालकको पनि डेंगु संक्रमणबाट मृत्यु भएपछी तनहुँका तनहुँ ज्यान गुमाउनेको संख्या कुल ६ जना पुगेको छ ।

तनहुँमा अहिले ५ हजार ४ सय १७ जना डेंगुबाट संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । जसमा व्यास नगरपालिका भित्रका मात्रै करिब ४ हजार ५ सय ९४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

अहिले देशभरमा धेरै डेंगु संक्रमणको लिस्ट हेर्दा तनहुँ जिल्ला दोस्रो नम्बरमा रहेको छ । डेंगु संक्रमण हाल तनहुँको दमौलीमा भयावह बन्दै गएको छ । अहिले तनहुँको दमौली डेंगुको ‘हटस्पट’ बनेको छ । दैनिक रुपमा अस्पतालमा बिरामीको संख्या बढ्दो छ । अस्पताल र स्वास्थ्य संस्था जाने बिरामी डेंगु र ज्वरोको बढी देखिएको दमौलीका स्वास्थ्यकर्मी बताउछन ।

एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सरुवा रोग भएका कारण पनि त्रास बढेको छ । प्रत्येक वर्ष सताउने डेंगु नियन्त्रण गर्ने एक मात्र उपाय भनेको लाभा नष्ट नै हो । जसका लागि सर्वसाधरण मात्र सर्तक बन्ने नभई डेंगु नियन्त्रणवारे सरकारको समेत ध्यानकर्षण हुनु पर्ने विज्ञहरुको सुझाव छ । तर, यसमा सरकारसँगै स्थानीय निकाय पनि चुकिरहेको दमौलीको अप्रिय घटनाले देखाएको छ ।

डेंगु संक्रमण के हो र कसरी बच्ने ?

डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ।

डेंगु रोग डेंगु भाइरसका कारणले हुने गर्दछ। डेंगु रोग इन्डियन सबकन्टिनेन्ट, साउथ एसिया, साउथर्न चाइन, ताइवान, पेसिफिन आइल्यान्ड, मेक्सिको, अफ्रिका, सेन्ट्रल र साउथ अमेरिका जस्ता ठाउँहरुमा बढी पाइने गरेको छ। सबैभन्दा धेरै साउथ इस्ट एसिया र वेष्टर्न पेसिफिक आइल्यान्डमा देखिएको छ।

अहिलेसम्म डेंगु मनिसबाट मनिसमा सरेको छैन। डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेंगु रोग सर्दछ। लामखुट्टेको अलावा मनिसहरुको तिब्र बसाइँसराई र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको छ।

यसले संक्रमित व्यक्तिको शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित बनाइदिन्छ। गम्भीर अवस्थाका डेंगुुका बिरामीको सम्पूर्ण शरीरमा रक्तस्राव गराइदिन्छ।

डेंगुुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइदिन्छ। जब प्लेटलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ। यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुनसक्छ। यसको साथै रक्तचाप (ब्लड प्रेसर) कम हुने तथा फोक्सोमा पानी जम्ने जस्ता खतरा पनि हुनसक्छ।

डेंगु एक भाइरसको कारणले हुने रोग हो। ट्रपिकल र सबट्रपिकल क्षेत्रहरुमा अधिक रुपमा यो रोग देखा पर्दछ। वर्षातको मौसममा डेंगु फिवरको प्रकोप धेरै बढ्ने गर्दछ। डेंगु रोग फैलाउने लामखुट्टेले विशेषगरी दिनको समयमा टोक्ने गरेको पाइन्छ। डेंगु सार्ने लाम्खुट्टेहरु जमेको पानीको वरपर हुने गर्दछन्।

डेंगु एक प्रकारको भइरल इन्फेक्सन हो। जसलाई ४ प्रकारमा वर्गीकरण गरिएको छ। जस्तै डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४। यो रोगका लक्षणहरु लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखा पर्दछन्। यो रोगको बिरामीलाई समय मै अस्पातल पु¥याउन सकेको खण्डमा नियन्त्रण गर्न सकिन्छ।

हालसम्म डेंगु रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन। यद्यपि डेंगु रोगले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ। डेंगु रोगले सक्रमित व्यक्तिहरुमा रुघाखोकी र तिब्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खलखली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने हुन्छ।

त्यस्तै स्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमिरा देखिने, शरीरका अंगहरुबाट रक्तश्राव हुने, (विशेषगरी नाक, मुख र मांसपेशी (डेंगु हेमोरेज फेबर), पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस हुने, ब्लड प्रेसर कम (लो) हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगमा रक्तसंचार सुचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्दछन्।

डेंगु रोगका लक्षणहरु लेप्टोस्पाइरोसिस, टाइफाइड, एलो फेवर, स्कारलेट फिवर, रकी माउन्टेन फिवर, मेनिन्जोकोक्सेमिया, मलेरिया, चिकनगुनिया, फुड पोइजनिङ तथा अन्य रोगका लक्षणसँग पनि मिल्दाजुल्दा हुन्छन्।

डेंगु रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर जमेको पानी छ भने तुरुन्त पुरिदिने, लामखुट्टे भएको ठाउँमा जाँदा शरीर पुरै ढाकिने गरी कपडा लगाउने, डेंगु लागेको लक्षण देखापरेको अवस्थामा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा जाने, डेंगु लागेको शंका हुनासाथ अत्यधिक तरल पदार्थ सेवन गर्ने, अस्पताल वा स्वास्थ्य केन्द्र पुगेपछि डाक्टर तथा स्वास्थ्यकर्मीले भनेअनुसार गर्ने गर्नुपर्छ।

गम्भीर बिरामीलाई अस्पातलमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ। १० वर्षभन्दा कम उमेर समूहका बाल बालिकामा यो रोग सर्ने प्रबल सम्भाबना हुन्छ। यो रोगको कारण ६ देखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्यु दर रहेको छ। एक वर्षभन्दा कम उमेरका बालबालिकालाई डेंगु रोग लागेको खण्डमा मृत्यु हुने सम्भावना बढी हुन्छ।

लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो। त्यसैले वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी देखिन्छ। लामखुट्टेले खुला ट्यांकी, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेका सिसा वा भाँडामा जम्मा भएको पानी तथा खाल्टाखुल्टीमा जम्मा भएको पानीमा फूल पार्ने हुँदा यस्ता ठाउँमा पानी जम्न नदिनु र जमेको पानीलाई पुर्ने व्यवस्था गरिनु पर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *