दमौली । तनहुँको व्यास नगरपालिकाले आफ्नो कार्यालय प्राङ्गण भित्रै नकुहिने फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार व्यास नगरपालिकाको नियमित बैठकले सो निर्णय गरेको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नकुहिने पुनः प्रयोगमा आउने सामग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रकृया चलिरहेकाले सोको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म व्यास नगरपालिकाको कार्यालय प्राङ्गण भित्रै नकुहिने फोहोर व्यवस्थापन गर्ने निर्णय भएको हो । नगरपालिकाले हाल कुहिने र नकुहिने फोहोर सङ्कलनलाई श्रोतबाटै वर्गीकरण गर्दै आईरहेको थियो ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत १४ वटै वडाका वडा अध्यक्षहरु, सबै कार्यपालिकाका सदस्यहरु समेत उपस्थिति भई सो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै व्यास नगरपालिका भित्र हालसालै आएको बाढी, पहिरो, हावाहुरीबाट प्रभावित विद्यालय, घर, गोठ, कुला, खेत लगायतका विषयमा पिडितहरुलाई राहत उपलब्ध गराउने, खोला नदीको मापदण्ड स्पष्ट गर्ने, जिल्ला विपद्बाट सम्बोधन हुन नसक्ने पिडितहरुलाई सम्बन्धित वडाको प्राविधिक प्रतिवेदन समेत लिई सहयोग पुयाउने निर्णय समेत भएको छ ।

त्यसै गरी व्यास नगरपालिका घर नक्सा कायम एवं अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८१ पारित गर्ने र नगर भित्रका विपन्नहरुको घरबास सहयोग सम्बन्धी कार्यविधि निर्माण गरी आगामी बैठकमा पेश गर्न विधायन समितिलाई निर्देशिन दिने निर्णय पनि भएको छ ।

त्यस्तै ४१ औँ नगर सभाले कार्यपालिकालाई प्रत्यायोजन गरेको अधिकार अनुसार नगरपालिका भित्र गठित विभिन्न समिति, उपसमितिमा रहेर विगत २ वर्ष सेवा पुर्याएका समितिका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्दै विभिन्न समितिका संयोजक तोक्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

जसअनुसार पूर्वाधार विकास समितिको संयोजकमा व्यास नगरपालिका वडा नं. ९ का अध्यक्ष सुरेश थापा, नगर खेलकुद समितिको संयोजकमा व्यास नगरपालिका वडा नं. ६ का अध्यक्ष जीवन गुरुङ, आर्थिक विकास समितिको संयोजकमा व्यास-१० का अध्यक्ष खेमराज पोख्रेल, सार्वजनिक सेवा तथा सुशासन समितिको संयोजकमा व्यास ११ का अध्यक्ष दलबहादुर दुरा, विधायन समितिको संयोजकमा व्यास १ का अध्यक्ष रमेशचन्द्र हड्खले, सरसफाई जग्गा व्यवस्थापन समितिको संयोजकमा व्यास १३ का अध्यक्ष बसन्त आले, लेखा समितिको संयोजकमा व्यास ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ, सामाजिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य चन्द्रमाया परियार र वन तथा वातावरण समितिको संयोजकमा कार्यपालिका सदस्य रनसिं नेपाली रहेका छन् ।

संघीय बजेट अन्तर्गत प्राप्त हुन आएको माध्यमिक तहको २० दरबन्दी र आधारभूत तहको ५ दरबन्दी गणित, विज्ञान, अग्रेजी विषयको शिक्षक अनुदान सहयोगमा यस अघिको दरबन्दीलाई कायमै राखी माधयमिक तहमा कक्षा ९ चलेकोमा २ दरबन्दी, कक्षा १० चलेकोमा अधिकतम ३ दरबन्दी र माध्यमिक तह चलेकोमा यदि यसअघि आधारभूत दरबन्दीमा रहेको भए सो दरबन्दी अन्य आवश्यक आधारभूत विद्यालयमा स्थानान्तरण गर्ने गरी दरबन्दी वितरण गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै दमौली अस्पताल सर्पदशंको उपचार सञ्चालन गर्न आवश्यक पूर्वाधारमा सहयोग पुर्याउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *