बन्दिपुरमा तीज सप्ताहन्न उत्सव हुने, तीज गीत प्रतियोगितामा प्रथम हुनेलाई १ लाख पुरस्कार

Byखवरबाटिका

९ भाद्र २०८१, आईतवार २३:२५ ९ भाद्र २०८१, आईतवार २३:२५ ९ भाद्र २०८१, आईतवार २३:२५

बन्दिपुर । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा प्रकृति र संस्कृतिको संगम भूमि पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा आगामी भाद्र १५ देखि २२ गतेसम्म साताव्यापी रुपमा “तिज सप्ताहन्न उत्सव” आयोजना गरिएको छ ।

बन्दिपुर गाउँपालिकाको संरक्षकत्वमा र बन्दिपुरमा रहेका सामाजिक संघ संस्थाहरु, बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रिय होटल संघ बन्दिपुर, तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर ईकाइ, रेवान जिल्ला बार एशोसियसन, बन्दिपुर गाउँपालिका पर्यटन एवं संस्कृति विभाग, सामुदायीक होमस्टे महासंघ बन्दिपुर, आर के डि महिला उद्यमशिल क्लव र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरिएको हो ।

कार्यक्रम अन्तरगत हरेक दिन बन्दिपुर क्षेत्रका विभिन्न जातजातिका साँस्कृतिक झाँकी प्रदर्शन, विभिन्न आमा समूह, क्लब, विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिने छ भने प्रत्येक दिन राष्ट्रिय तथा स्थानी कलाकारहरुको विशेष प्रस्तुती रहने कार्यक्रमका संयोजक एवं बन्दिपुर केवलकारका संचालक किरण पोख्रेलले आईतबार बन्दिपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दिपुरमा सबै किसिमका पर्यटक भित्र्याउनका लागि कार्यक्रमले मद्दत पुग्ने विश्वास ब्यक्त गरे । साथै उनले धार्मिक एवं पर्यछकीय हिसाबले बन्दिपुरको विश्वभर प्रचार प्रसारमा जोड दिनु भएको छ ।

उत्सव कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेबी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगाएत स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ ।

कार्यक्रम अन्तर्गत “बृहत् खुल्ला तीज गीत प्रतियोगिता”, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन, समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

त्यसै गरी हालसम्म बाहिरी दुनियाँसँग कम प्रचारित धार्मिक शक्तिपीठहरु सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका देवीको दर्शन गराउने र महिमा एवं शक्ति बारे परिचित गराउने कार्यक्रम समेत रहेको छ ।

उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य सहित बन्दीपुरमा कार्यक्रम गर्न लागिएको र उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर “माँ खड्गदेवी मन्दिर” प्राङ्गणमा हुने आयोजकले बताएको छ।

तीज गीत प्रतियोगिताको लागि कम्तीमा ५० टिमले सहभागी जनाउनेछन् भने चर्चित कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिँदै बन्दीपुरलाई गुन्जाउने छन्।

तीज गीत प्रतियोगिताको विजेता प्रथम टिमलाई रु १ लाख १ हजारको नगद पुरस्कार र प्रमाणपत्र, द्धितीयलाई रु ७५ हजार र प्रमाणपत्र, तृतीयलाई रु ५० हजार र प्रमाणपत्र, र सान्त्वना हुने टिमलाई २५ हजार र प्रमाणपत्रको पुरस्कारले पुरस्कृत गरिनेछ। प्रतियोगिताका लागि घ देखि १५ जना सम्मको समूह हुनु पर्ने, समूहमा सवै महिला अनिवार्य गरिएको छ ।

वाद्यबादनको सामग्री आँफैले ब्यवस्था गर्नु पर्ने, हरेक टिमलाई बढीमा १५ मिनेटको समय दिईने छ । त्यसैगरी प्रतियोगितामा भाग लिने समूहले टिम दर्ता शुल्क २ हजार दिनु पर्ने छ भने प्रतियोगितामा छनौट चरण, क्वटर फाईनल चरण, सेमिफाईनल चरण र फाईनल चरण हुनेछ । फाईनल चरणमा तीजे दोहोरी हुने बताईएको छ । साथै टिम दर्ताका लागि भाद्र १३ गते भित्र फोनबाट पनि गर्न सकिनेछ , त्यसका लागि ९८०२८१५७९२, ९८५६०३२४७३, ९८४१९४२६१६ र ९८५६०४२७७० मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।
सो अवसरमा बन्दीपुर केबलकारले केबलकारको सवारीमा सांस्कृतिक पर्यटकहरू को लागी विशेष छुट समेत घोषणा गरेको छ।

संरक्षक संस्था बन्दिपुर गाउपालिकाका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मा, बन्दिपुर पर्यटन विकास समितिका कर्ण गुरुङ, क्षेत्रिय होटल संघ बन्दिपुरकी अध्यक्ष फूलमती थापा, तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर ईकाइका अध्यक्ष घनश्याम उपाध्याय, रेवान जिल्ला बार एशोसियसनका अध्यक्ष जितेन्द्र भूमी, बन्दिपुर गाउँपालिका पर्यटन एवं संस्कृति विभाग प्रमुख सुरज भट्टराई, सामुदायीक होमस्टे महासंघ बन्दिपुरकी अध्यक्ष गीता लम्साल, ईलाका प्रहरी कार्यालय बन्दिपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष केसी, बन्दिपुर सामुदायीक होमस्टेकी अध्यक्ष दिलकुमारी राना, तीनधारा होास्टेका अध्यक्ष हरिश्चन्द्र भट्टराई लगातको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण बन्दिपुर केबलकारका तुलसी प्रभाष खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *