दमौली । तनहुँको व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने र जापानका काउन्सिलर तथा डेपुटी हेड अफ मिसन टाकाहिरो तमुराबीच आज विशेष भेटवार्ता सम्पन्न भएको छ ।

उक्त भेटमा दुबै पक्षबीच नगरको सरसफाई केन्द्र, हाल निर्माणाधीन माथिल्लो सेती तनहुँ जलविद्युत आयोजना र तल्लो सेती तनहुँ जलविद्युत आयोजनाबारे गहन छलफल भएको नगरपालिकाले जनाएको छ ।

काउन्सिलर टाकाहिरो तमुराले माथिल्लो सेती तनहुँ जलविद्युत आयोजनालाई सन् २०२७ सम्म सम्पन्न गर्ने विषयमा चासो व्यक्त गरेको र यसका लागि नगरपालिकाको सहयोगको अपेक्षा गरेको उनले बताए ।

साथै, उनले तल्लो सेती तनहुँ जलविद्युत आयोजनाको सन्दर्भमा भने राम्रो अध्ययन गरी कागजात तयार भएमा जापानी सरकारको लगानीको सम्भावना सकारात्मक हुने कुरा व्यक्त गरे ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले आफूहरू सधैंभरि विकासका लागि सकारात्मक रहेको र समयमा नै तनहुँ जलविद्युत आयोजना सम्पन्न गर्न आफ्नो क्षेत्रबाट आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

साथै, उनले तल्लो सेती जलविद्युत आयोजनाको निर्माण कार्य छिटोभन्दा छिटो सुरु गर्नु आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई छिटो सञ्चालनमा ल्याउन टाकाहिरो तमुराको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

त्यसैगरी, तमुराले व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई सूक्ष्म वर्गीकरणको अस्थायी स्थानको निरीक्षणपछि यसको प्रभावकारी कार्यान्वयनको प्रशंसा गरे । उनले यसलाई स्थायी रूपमा विकसित गर्नुपर्ने आवश्यकता औंल्याउँदै नगरपालिकाको प्रयासलाई थप सुदृढ बनाउन सुझाव दिए ।

उक्त भेटले व्यास नगरपालिकाको विकास योजनाहरूमा जापानी सरकारको चासो र सम्भावित साझेदारीको संकेत गरेको नगरपालिकाले जनाएको छ ।

यसले तनहुँमा ऊर्जा उत्पादन, सरसफाई, र वातावरणीय संरक्षण प्रयासहरूमा थप अवसर र प्रगतिको सम्भावना निम्त्याउने विश्वास गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed