आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ६ प्युघरफाटमा सेवा कार्यालयको उद्घाटन भएको छ।
वडाअध्यक्ष दिलिप गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाँउपालिका अध्यक्ष शुक्र चुमान रहेका थिए ।
कार्यक्रममा विशेष अतिथि उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासनिक अधिकृत विष्णु प्रसाद शर्मा, वडा सदस्यहरू, पूर्व जनप्रतिनिधि लगाएतको उपस्थिती थियो।
सेवा कार्यालयले हिलेखर्क जाँदा अप्ठ्यारो परिरहेको र प्युघर फाट वरिपरिका बस्तीका जनतालाई सहज र छिटो सेवाहरू उपलब्ध गराउने छ ।
सेवा कार्यालयबाट जनतालाई सरकारी सेवा पुर्याउन सुविधाजनक बनाउने र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने लक्ष्य राखिएको छ।
अब हप्ताको २ दिन सेवा कार्यालयबाट नागरिकहरूले विभिन्न सेवा प्राप्त गर्न सक्नेछन्।
उक्त कार्यालयबाट बिभिन्न सेवाहरूको पहुँच विस्तार गरिने र जनताको समस्याहरू छिटो समाधान हुने अपेक्षा गाँउपालिकाले गरेको छ।
कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष शुक्र चुमानले भने “सेवा कार्यालयले जनतासँगको हाम्रो निकटता बढाउनेछ र प्रशासनिक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउनेछ।”
उनले भने, “यस कार्यालयले जनतालाई एक स्थानबाट सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था गर्नेछ।”
कार्यालय खोल्नुका प्रमुख उद्देश्य भनेको जनतालाई स्थायी र दीर्घकालिक रूपमा सेवा दिने रहेको अध्यक्ष चुमानले बताए ।
सो सेवा कार्यालयको उद्घाटनले प्युघर क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधार्ने र प्रशासनको प्रभावकारीता बढाउने दिशा तय गर्ने विश्वास गाँउपालिकाले गरेको छ ।