दमौली । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकाको टोलीद्वारा व्यास नगरपालिकाको अध्ययन भ्रमण गरेको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनको नेतृत्त्वमा ३२ सदस्यीय जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले व्यास नगरपालिकाको फोहोर व्यवस्थापन तथा अन्य प्रशासनिक र विकास गतिविधिहरूको अध्ययन तथा छलफल गरेको छ ।
टोलीले व्यास नगरपालिकामा हाल सञ्चालनमा रहेको फोहोर वर्गीकरण कार्यक्रमको निरीक्षण गर्दै त्यसको प्रभावकारिता र विस्तार सम्भावनाबारे जानकारी लिएको थियो।
व्यास नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै रूपमा संकलन गरेर व्यवस्थापन गरिरहेको छ ।
दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय केही महिना पहिले नै भइसकेको छ।
यस सम्बन्धले दुई पालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई आपसी अनुभव आदान-प्रदान गर्ने अवसर प्रदान गर्दै दुवै पक्षको समृद्धि र विकासका लागि सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचनले व्यास नगरपालिकाको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नेपालका विभिन्न स्थानीय तहहरूलाई उत्प्रेरणा दिन सक्ने उल्लेख गरे ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भगिनी सम्बन्धमार्फत दुवै पालिकाबीचको सम्बन्ध अझ सुदृढ हुने र व्यास क्षेत्र र मुक्तिनाथ क्षेत्र बीच धार्मिक एवं पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।