बन्दीपुर । बन्दीपुर गाउँपालिकामा तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्दै भलिबल खेलको विकासमा योगदान पुर्याउने उद्देश्यले फागुन ८ गते सुरुवात भई ९ गते समापन हुनेछ ।
प्रतियोगिताका लागि टिम दर्ता फागुन ५ गतेसम्म खुला गरिएको छ । इच्छुक टिमहरूले शिक्षा, युवा तथा खेलकुद शाखामा आफ्नो दर्ता गराउनु पर्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ।
गाउँपालिकाका प्रत्येक वडाबाट दुईवटा टिम सहभागी गराउन सकिने व्यवस्था मिलाइएको छ। खेलाडीहरू बन्दीपुर गाउँपालिकाभित्रकै हुनुपर्ने अनिवार्य नियम लागू गरिएको छ। प्रतियोगिता नकआउट प्रणालीमा खेलाइनेछ, जसमा सेमिफाइनलसम्मका खेल तीन सेटमा र फाइनल खेल पाँच सेटको हुने आयोजकले जनाएको छ।
विजेता टिमलाई रु. ३०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले रु. २०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत पुरस्कृत गरिनेछ। बेस्ट स्पाइकर, बेस्ट बल्कर, बेस्ट लिब्रो, र बेस्ट लिफ्टरलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भीमप्रसाद लामिछानेले जानकारी दिए।