दमौली । भूमि समस्या समाधान आयोग तनहुँका सदस्यहरुले शपथग्रहण गरेका छन् । बिहीबार आयोगका जिल्ला अध्यक्ष गोविन्द सिलवालले विज्ञ सदस्य श्रीराम कार्की, सदस्य रामचन्द्र उपाध्याय र महिला सदस्य आशा थापालाई शपथ गराएका हुन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व सांसद केदार सिग्देलले सरलबाट जटिल तर्फ अघि बढेर काम धेरै गर्नुपर्ने उनले बताए । उनले भने ‘जटिल समस्या कम हुन्छन, सरल धेरै हुन्छन त्यसैले त्यसतर्फ आयोगले काम गर्नुपर्छ ।’
सोही अवसरमा स्रोतसाधनको अभाव भएपनि जनताको समस्या बुझेर काम गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । उनले थपे ‘राजनीति पार्टिबाट आएको भएपनि अब आयोगमा आएपछि सबैको भएर काम गर्नुपर्छ ।’
कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, आयोगका पूर्व केन्द्रीय सदस्य एकबहादुर राना, पूर्व जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा एमाले तनहुँका उपाध्यक्ष राजेश्वर ढकाल, नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सापकोटा लगायतले असली भूमिहिनको पक्षमा काम गर्न आफुहरुको साथ सहयोग हुने बताए ।