दमौली । फिल्म ‘ऊनको स्वीटर’ ले यति बेला सिनेमा हलहरूमा राम्रो व्यापार गरिरहेको छ । वैशाख २६ गते अर्थात गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ ।

पहिलो साता उपत्यकाको हलहरु भ्रमण गरेको फिल्म युनिट दोस्रो साता भने उपत्यका बाहिरको भ्रमणमा निस्किने भएको छ । आज  दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्ने कार्यक्रम छ ।

फिल्मको टिम आज शुक्रबार दिउँसो ३ बजे दमौली स्थित क्युएफएक्सको हलमा उपस्थित हुने क्युएफएक्स दमौलीका उज्जल भट्टराईले जानकारी दिए । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।

फिल्मले पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै दोस्रो सातामा प्रवेश गरेको निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.लीले जनाएको छ । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्मले सुरुवातदेखि नै दर्शकको मन जितिरहेको छ। आजदेखि फिल्म दोस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले देशभर करिब २ सय सो पाएको निर्माण टिमले जनाएको छ। यो सातादेखि कलाकारहरु मोफेसल भ्रमणमा छन्।

चलचित्रलाई दर्शकले साथ दिएपछि निर्माण टिम विभिन्न हल भिजिटमा हिडिरहेका छन् । चलचित्रप्रति दर्शक प्रतिक्रिया बुझ्न र दर्शकलाई मायाका लागि धन्यवाद भन्न कलाकारसहित टिम हल हलमा पुगिरहेको निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.लीले जनाएको छ ।

नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेल अभिनय छ ।

फिल्ममा समावेश ‘चाइनेजो जिन्दगानीमा’, ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ बोलको गीत अहिले चर्चित छ । निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्मको टिजर, ट्रेलर र गीत–संगीतले दर्शकमाझ राम्रो ‘हाइप’ बनाएको थियो।

म्युजिकल फिल्ममार्फत दर्शकको मन जितेको आर्टमाण्डु नेपालको यो पहिलो फिल्म हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *