तनहुँ । तनहुँ क्षेत्र नं. १ मा आज आइतबार बिहान ७ बजेदेखी प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन जारी छ । गत मंसिर ४ को निर्वाचनमा यहाँबाट विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ ।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तत्कालिन तनहुँसुर आधारभूत विद्यालय हाल तनहुँसुर स्वास्थ्य चौकी मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने छैनन् ।
अन्य उम्मेदवारहरुमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार लगायत छन् ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।
मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका सदरमुकाम दमौली ल्याइनेछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ३५० मतदाता छन् ।
उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ ।