तनहुँ । उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा दिउँसो ३ बजेसम्म ४२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । तनहुँ-१ मा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
अहिलेसम्म तनहुँ-१ का सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भईरहेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । तनहुँ १ मा ५ पालिकाका ४२ वटा वडामा मतदान हुँदैछ । मतदानका लागि ६९ मतदान स्थल र १५२ मतदान केन्द्र तोकिएका छन् ।
उपनिर्वाचनमा कुल १ लाख २३ हजार ३ सय ५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद ढकालले बताए । निर्वाचन गराउन १३ सय ६८ जना कर्मचारी खटिएका छन् । त्यस्तै सुरक्षाका लागि २ हजार ५ सय सुरक्षाकर्मी खटिएका छन् ।
गत मंसिर ४ को निर्वाचनमा यहाँबाट विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ ।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन् । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तत्कालिन तनहुँसुर आधारभूत विद्यालय हाल तनहुँसुर स्वास्थ्य चौकी मतदान केन्द्रबाट मतदान गरे ।
नेकपा एमालेका उम्मेदवार खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनिहरुले मतदान गर्न पाएनन ।
अन्य उम्मेदवारहरुमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार लगायत छन् ।
मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका सदरमुकाम दमौली ल्याइनेछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ ।