तनहुँ-१ को मतगणना १२:३० बजेदेखि सुरु, भानु-१० देखि सुरुवात

Byकिरण श्रेष्ठ

११ बैशाख २०८०, सोमबार ००:३९ ११ बैशाख २०८०, सोमबार ००:३९ ११ बैशाख २०८०, सोमबार ००:३९

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को मतगणना सुरु हुने भएको छ । जिल्लाको भानु नगरपालिका वडा नम्बर १० को ५ वटा मतपेटिकाबाट मतगणना सुरु भएको छ ।

जनजागृती मावि क र ख तथा सरस्वती आधारभूत विद्यालय र चोक मावि क र ख मतदान केन्द्रका बाकस खोलेर गणना शुरु भएको छ ।सर्वदलीय बैठकमा राति ११:४५ बजेबाट मतगणना शुरु गर्ने सहमति भएको थियो । तर मतगणना १२:३० बजेबाट सुरु भएको छ ।

मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि बसेको सर्वदलीय बैठकले राति ११.४५ बाट मतगणना थाल्ने सहमति गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्बेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा छ । यी बाहेक अन्य ६ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ५७५ मत अर्थात ५१.७ प्रतिशत मत खसेको छ । यहाँ १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा ६३ हजार ५७५ मत मात्रै खसेको हो ।

निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार सबैभन्दा बढी मत व्यास नगरपालिकामा खसेको छ । यहाँ ४० हजार ४ सय ४९ हजार मतदाता रहेकोमा २२ हजार ४ सय २५ मत खसेको हो ।

आबुखैरेनीमा ६ हजार ७ सय ६९ मत, देवघाटमा ५ हजार ८ सय ५४ मत, बन्दिपुरमा ७ हजार ८ सय ३० मत, भानु नगरपालिकामा २० हजार ८ सय ७९ मत खसेको छ ।

आइतबार भएको प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको हो ।

तस्विर : उज्वल पौडेल, सविन लामिछाने 

Leave a Reply

Your email address will not be published. Required fields are marked *