दमौली । तनहुँको म्याग्दे-४ मनहरीमा हिलाम्मे सडकमा सवारी साधन फसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जसले गर्दा लामा तथा छोटा दुरीका सवारीसाधन आवतजावत रोकिएको छ ।

मुग्लिन पोखरा सडकखण्ड विस्तारका क्रममा थर्पु-पोखरा सडकखण्ड निर्माणको काम भइरहेको छ । अविरल वर्षापछि अहिले सडक हिलाम्मे भएको हो ।

सडक हिलाम्मे भएका कारण सवारीसाधन चल्न नपाएकाले यात्रुहरू अलपत्रमा परेका छन् ।

निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् ।

मनहरी खण्डको सडकमा सवारीसाधन फस्दा सयौं सवारी साधन र हजारौ यात्रु अलपत्र परेका छन ।

आज बिहानै देखि सो सडक सुचारु गर्न जेसेबीको प्रयोग गरिरहेको प्रहरीले जनाएको छ । तर पूर्ण रुपमा सडक संचालनमा आउन समय लाग्ने जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । उनले अगाडी थपे ‘दलदले खालको माटो रहेछ, ढुङ्गा र माटो हालेर बाटो बनाउन लागिरहेको छ तर सहज भने देखिदैन ।’

उक्त स्थानबाट दमौली तर्फ करिब एक किलोमिटर र पोखरा तर्फ ४ सय मिटर जति लामो जाम रहेको ट्राफिक प्रमुख पौडेलले जानकारी दिए ।

यस्तो छ दमौली-पोखराको वैकल्पिक सडक

मुग्लिन–पोखरा सडक प्रयोग गर्दै पोखरातर्फ जानेले भने वैकल्पिक सडक प्रयोग गर्न सकन्छन् ।

तनहुँको सदरमुकाम दमौलीको भोर्लेटारचोकबाट कलेस्ती, लमजुङको मध्य नेपालको दुइपिप्ले, न्यौपानेवेशी, कास्कीको रुपा गाउँपालिकाको पोल्याङ, देउराली, राजाको चौतारा, पोखरा महानगरपालिकाको शिशुवा हुँदै पोखरा निस्कन सकिन्छ।

दमौलीबाट पृथ्वीराजमार्ग हुँदै पोखरा जाँदा ४९ किलोमिटर दूरी छ भने दमौलीबाट पोल्याङ हुँदै पोखरा पुग्न ५९ किलोमिटर पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box