आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तिपुर स्थित चन्द्रोदय माध्यमिक विद्यालयले आगामी पुस २ गते स्वर्ण उत्सव मनाउने तयारी गरेको छ ।
स्वर्ण उत्सवका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि विद्यालयले स्थानीय तथा विभिन्न सरोकारवाला निकायसंग सहयोगको अपिल गरेको छ ।
विद्यालय व्यवस्थापन समितिले पूर्व विद्यार्थी स्मृति अक्षकोष निर्माण र स्वर्ण उत्सवको आयोजनाका लागि सहयोगको अभियान सञ्चालन गरेको छ ।
यस अभियानलाई आँबुखैरेनी–२ कोट निवासी (हाल हङकङ) सुनिता गुरुङले एक लाख रुपैयाँ सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य मनोज बास्तोलाले जानकारी दिए । सुनिताका बुबा सुनाराम गुरुङले उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
विद्यालय स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा मनाउन लागिएको स्वर्ण उत्सवका अवसरमा विद्यालयले स्मारिका प्रकाशित गर्ने तयारी गरेको छ ।