दमाैली- नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखाले बुधबारबाट एम्बुलेन्स सेवाको शुभारम्भ गरेको छ। नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले एम्बुलेन्स सेवाको रिबन काटेर शुभारम्भ गरेका थिए। न्याैपानेले गत भदौ १९ नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको उपलक्ष्यमा शुभारम्भ गरिएको अभियानले बुधबार सार्थकता पाएको बताए । नगरपालिकाले आवश्यक सहयोग गर्न सधैँ तयार छ भन्दै सहयोगी सबै संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिए। उनले स्वास्थ्य सेवालाई नगरपालिकाले उच्च प्राथमिकता दिई आफ्ना योजनाहरू बनाइरहेको सन्दर्भ उल्लेख गर्दै व्यास नगरपालिका वडा नम्बर १० दुम्सीमा नगर अस्पतालको प्रस्ताव आगामी नगर अधिवेशनमा गरिने कुराको समेत जानकारी दिए । उक्त कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख मिरा जोशीले अति बिपन्न व्यक्तिहरुका लागि सहयोग पुर्याउन र उक्त कार्यका लागि नगरपालिका सदैव सहयोग गर्न तत्पर रहने बताईन । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य प्रदीप घिमिरेले उपशाखाको कार्यको प्रशंसा गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रले उपशाखालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। गरे सकिन्छ भन्ने सन्देश उपशाखाले दिएको भन्दै घिमिरेले अरु पनि यस्तै नमुना कार्य गर्नको लागि उत्प्रेरणा मिलोस् भन्ने शुभकामना प्रदान गरेका थिए । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहूँका सभापति कृष्ण हरि वाग्ले ,मन्त्री चिनु पोखरेल, शिक्षक महासङ्घका जिल्ला अध्यक्ष रामचन्द्र पोखरेल ,निजामती कर्मचारी युनियन संघ तनहुँका अध्यक्ष नारायणप्रसाद अधिकारी, ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष सूर्यचन्द्र हड्खले ,तनहुँ दुग्ध उत्पादक सहकारी संस्था लि का अध्यक्ष यज्ञप्रसाद शर्मा , दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तुलसीराम सुबेदी ,शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष प्रेम राज मिश्र लगायतका वक्ताहरुले उपशाखाको कार्यको प्रशंसा गर्दै दिगाेपना कायम राख्न आवश्यक सुझाव दिएका थिए । उपशाखाका सभापति रामदत्त पौडेलको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा एम्बुलेंस अभियानका संयोजक ईश्वर पौडेलले अभियानको बारेमा बटुलेका अनुभव तथा प्रतिवद्धताहरु प्रस्तुत गर्दै स्वागत गरेका थिए। एम्बुलेन्स अभियानका सचिव श्रीकृष्ण आचार्यले एम्बुलेन्स अभियानको हालसम्म २९लाख ९हजार ७ सय ५६ रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको मा जसमध्ये १३लाख ६६हजार ५६० रुपैयाँ खर्च भएको जानकारी गराए ।उक्त कार्यक्रम उपशाखाका सचिव याम प्रसाद सापकोटाले सञ्चालन गरेका थिए। उपशाखाले उपलब्ध गराएको जानकारीअनुसार उक्त एम्बुलेन्स सेवाले कोभिड संक्रमित विरामीहरुलाई ५०% ,अपाङ्गता भएका व्यक्तिहरूलाई ५०% तथा सुत्केरिहरुका लागि २०% भारा छुट दिने निर्णय गरेको समेत जनाएको छ।
