बुटबल – सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले छिटै नै सरकारले कामको गति बढाउने दाबी गरेका छन् । गठबन्धनबाट बनेको सरकारले मन्त्रीपरिषद्को विस्तार गरेसँगैं मन्त्रालय कार्ययोजना बनाउने काममा ब्यस्त रहेको भन्दै उनले तिहारलगत्तै सरकारले तीव्र गतिमा काम अगाडी बढाउने बताए । बुधबार बुटवलमा नेकपा एकीकृत समाजवादी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
नेकपा समाजवादीबाट नेतृत्व गरेका मन्त्रीहरुले देखिने गरि काम गर्नेमा आफु विश्वस्त रहेको उनले बताए । उनले भने, ‘सरकार अहिले कार्ययोजना बनाउन काममा व्यस्त छ, तिहारपछि सरकारले तीव्ररुपमा काम अगाडी बढाउन्छ।’ उनले भने, ‘हाम्रो पार्टीबाट गएका मन्त्रीहरूबाट देखिने गरी काम हुनेछ ।’
कोरोनाको महामारीका कारण बैदेशिक रोजगारीमा गएका नेपालीहरुले भोगेका समस्या समाधानका लागि कुटनीतिक पहल शुरु गरिरहेको समेत मन्त्री श्रेष्ठले दाबी गरे । उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएको समस्या, श्रम कार्यालयहरुलाई दिने सेवालाई छिटो छरितो बनाउने, श्रम सम्झौता भएका देशहरुसँग परापर्श गर्ने लगायतका काम अघि बढि रहेको दावी गरे।
मन्त्री श्रेष्ठले नेपालका लाखौं श्रमिकहरुलाई मध्यनजर गरेर श्रमिक अस्पताल बनाउने पनि बताए। वैदेशिक रोजगारीमा जानेहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने प्रवन्ध मिलाउने पनि उनको भनाइ छ । मन्त्री श्रेष्ठले बुधबार बुटवलस्थित श्रम कार्यालयको समेत अवलोकन गरेका छन् । उनले कार्यालयको भौतिक संरचनाको अभाव र थोरै संख्यामा मात्रै पुनः श्रम स्वीकृतिको काम हुँदै आएकाले त्यसलाई चुस्त बनाउने बताए ।
