जेष्ठ नागरिकको मुहारमा खुसी खोज्दै आँबुखैरेनी

Byखवरबाटिका

१ फाल्गुन २०७८, आईतवार ०६:४६ १ फाल्गुन २०७८, आईतवार ०६:४६ १ फाल्गुन २०७८, आईतवार ०६:४६

सविन लामिछाने,
आँबुखैरेनी
जिल्लाको आँबुखैरेनी गाँउपालिका वडा नं २ निवासी मनी गुरुङलाई जाडो महिनाभन्दा गर्मी महिना ठीक लाग्छ। जाडो महिनामा उनलाई चिसोबाट जोगिन तातो कपडाको अभाव झेल्नुपर्छ। ओढ्ने ओच्छ्याउने देखि लगाउन तातो कपडा चाहिने भएपछि उनलाई जाडो महिना दिक्कलाग्दो हुन्छ। चिसोको समयमा हात खुट्टा दुखेर सहनै नसक्ने हुन्छ । भत्ताबापत आउने रकमले औषधी उपचारमा ठिक्क हुने भएपछि चिसो छल्न न्यानो कपडा किन्न नसकेकी मनीलाई गाँउपालिकाले न्यानो कपडा प्रदान गरेको छ ।
‘जाडोको समयमा न्यानो कपडा पाईयो । अब सहज हुने भयो ।’ उनले भनिन, ‘बुढाबुढीलाई यस्तै सहयोग खाँचो पर्छ । न्यानो पाइयो, यसैमा खुसी छु ।’ आँबुखैरेनीकै उदयबहादुर मगरको कथा पनि उस्तै छ । घर परिवारबाट हेला भोग्न थालेका ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले सम्मान गर्ने कार्यक्रम सञ्चालन गरेपछि घर परिवारबाट माया पाउन थालेको उनको अनुभव छ । ‘धेरै ज्येष्ठ नागरिक परिवारबाट अपहेलित हुनुपर्ने अवस्था छ ।’ उनले भने, ‘गाउँपालिका र सामाजिक संघसंस्थाले सम्मान गर्न थालेपछि परिवारको अपहेलना गर्ने क्रम कम भएको छ ।’
उमेर बढ्दै जाँदा जेष्ठनागरिकलाई विभिन्न खाले रोगले च्याप्दै लग्छ। उपचार गर्न पनि परिवारका सदस्यबाट चासो घट्दै जाने जेष्ठ नागरिकको गुनासो छ। परिवारबाट अपहेलित हुन पुगेका ज्येष्ठ नागरिक र एकल महिलालाई स्थानीय सरकारले सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छन्। जसबाट समाजमा सकारात्मक सन्देश गएको छ ।
ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ताले पनि परिवारभित्र सम्मानको वातावरण बनाएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको बुझाई छ । ‘सरकारले दिने अन्य सहयोगले ज्येष्ठ नागरिकप्रति आदर सम्मान गर्ने संस्कृति बढ्दै गएको छ’, उनले भने, ‘वडा वडामै गएर जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम चलिरहेको छ।’
गाँउपालिकाले वार्षिक नीति, कार्यक्रम र बजेटमा उल्लेख भए बमोजिम शनिबार आँबुखैरेनी गाउँपालिकाको वडा नं १ र २ का जेष्ठ नागरिकलाई न्यानो कपडा, हर्लिक्स लगायत स्वास्थ्य साम्रगी वितरण गरिएको उनले जानकारी दिए । गाँउपालिकाले हरेक बर्ष ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै आएको छ । यस वर्ष ८० बर्ष माथिका दुई सय ७५ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा, हर्लिक्स लगायत स्वास्थ्य साम्रगी वितरण गरिने अध्यक्ष थापाले बताए ।
गाउँपालिकाले जेष्ठनागरिक सम्मानका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘ज्येष्ठ बुबा–आमाहरुको सम्मानको कार्यक्रम हरेक बर्ष गर्दै आएका छौं । जसले गर्दा उहाँहरुको सहज जीवनयापनमा सहयोग पुगेको छं, उनले भने, ‘विकास निर्माणको काम त भैरहेको छ । तर हामीले सामाजिक क्षेत्रलाई पनि संगसंगै लगेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box