शान्त बग्ने मादी नदी र उर्लिदै बग्ने सेती नदीको संगम हो मादीसेती दोभान । मादी नदीको देब्रे किनारमा छ, व्यास गुफा । दाहिने किनारमा परासर आश्रम । यही भौगोलिकता भित्र जेलिएको छ, १६ सय बर्ष भन्दा अघिको धार्मिक पौराणिक कथा ।
मादी नदीमा जाल खेल्ने क्रममा दाशराज माझीको जालमा एउटा ठूलो माछा प¥यो । माछाको पेट चिर्दा एक बालक र एक बालिका फेला परे, मत्स्यनामक र मत्स्यगन्धा । मत्स्यनामकलाई राजा उपरीचरले राखे। मत्स्यगन्धालाई माझीले धर्मछोरीको रुपमा पाले । उनी नदीमा डुड्गा खियाँउन समेत सिपालु भइन् ।
एकदिन परासर ऋषि आश्रम फर्किने तरखरमा थिए। नदी किनारमा डुड्गा खियाउँदै गरेकी मत्स्यकन्यालाई नदी तार्न लगाए । नदी तर्ने क्रममा मत्स्यकन्याको सुन्दरतामा मोहित भएर परासर ऋषिले समागमको प्रस्ताब गरे। नदी किनारमा ऋषिवरको आवतजावत। सबैले आफूहरुलाई हेरिरहेको र यस्तो अबस्थामा समागम सम्भव नभएको मत्स्यकन्याको भनाई पछि ऋषि परासरले तत्कालै कुहिरो उत्पती गराए। डुड्गामा परासर ऋषि र मत्स्यकन्या बिचको समागमबाट वेदव्यासको जन्म भएको बेद सहितका शास्त्रमा उल्लेख भएको व्यासका अद्येता काशीनाथ न्यौपानेले जानकारी दिए ।
‘बेदमा लेखिएको अंशको आधारमा पनि बेदव्यासको जन्म दमौलीमा भएको पर्याप्त प्रमाण मान्न सकिन्छ,’ उनले भने, ‘अन्य पुराणहरुमा भेटिएका तथ्यबाट पनि बेदव्यासको जन्मभुमी दमौली भएको पुष्टि भइसकेकोछ।’ व्यास क्षेत्रको प्रचारमा तदारुकताका साथ लाग्नु पर्ने उनको भनाई छ । व्यास क्षेत्रमा नै बेदव्यासले चारबेदलाई लिपीबद्ध गर्नुका साथै महाभारत, अट्टारपुराण, अठार उपपुराण र औप पुराणको रचना गरेको धार्मिक विश्वास छ । वेदव्यासले दमौली बजारदेखी करिब ८ किलो मिटर पुर्वमा आफ्नी हजुरआमा माछालाई राख्न मत्स्य स्मारक कुण्ड स्थापना गरे । जसलाई पछिल्लो समय छाब्दी बाराही मन्दिरको नामले पुजाआजा गरिदै आएको छ । विशेष रुपमा माछाको पुजा गरिने छाब्दी बाराही मन्दिरमा मनोकामना पुरा हुने विश्वासका साथ देशका टाढा टाढाका जिल्लाबाट समेत ठूलोसंख्यामा दर्शनाथीहरु आउँने गरेको छाब्दी बाराही मन्दिरका पुजारी प्रेम आलेले बताए ।
महाभारत, बेद लगायतका शास्त्रका रचयिता बेदव्यासको जन्म भएको ठाउँ, संसारकै पहिलो कुहिरो उत्पत्ती भएको ठाउँ, बैद्धिक सनातन धर्मको उद्गम स्थल व्यास क्षेत्र धार्मिक अस्तित्व मूल्यवान भएपनि प्रचारप्रसारमा ओझेलमा छ। पछिल्लो समयमा शैक्षिक भ्रमणसंगै विभिन्न धार्मिक गतिविधीले ज्ञान भुमी व्यास क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल देखिन थालेको व्यास क्षेत्र शिव पाञ्चायन मन्दिर विकास कोषका संरक्षक दामोदर बाबाले बताए ।
ओमकार परिवारको मुलथलोको रुपमा व्यास क्षेत्र अन्तराष्टिूय स्तरमा आफ्नो परिचय थप्ने तयारीमा छ । व्यास क्षेत्रमा एक सय ८ फिट अग्लो बेदव्यासको पूर्णकदको शालिक निर्माणको अभियान चाडै नै अघि बढ्ने व्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । ‘फागुनदेखी नै काम शुरु गर्ने तयारी गरेपनि कोरोना संक्रमणका कारण कामलाई पूर्णता दिन छैन।’ उनल भने, ‘प्रदेश सरकारको १० लाख रुपैयाको लागतमाा निर्माण शुरु गरिएको मुल गेट निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ ।’ बर्षायाम सकिए लगतै शिलान्यासको कामसंगै निर्माणको कामलाई पूर्णता दिने तयारीका साथ काम अघि बढाइएको श्रेष्ठले बताए ।