पिसिआर प्रयोगशालाको निम्ति तनहुँ समाज हङकङ र अष्ट्रेलियाकाे सहयोग

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानलेलाइ सहयाेग रकम हस्तान्तरण गर्दै तनहुँ समाज हंडकंडका पुर्व अध्यक्ष भिमराज गुरूङ ।

तनहुँ, १३ असार

तनहुँको व्यास नगरपालिकाको सक्रियतामा स्थापनाको तयारीमा रहेको पिसिआर परिक्षण प्रयोगशालाको पुर्वाधार निर्माणका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्ट्रेलियाको सहयोग प्राप्त भएको छ ।

व्यास–१० दुम्सी बजार स्थित आधारभुत स्वास्थ्य केन्द्रमा निर्माणाधीन प्रयोगशालाको लागि समाजको तर्फबाट ४ लाख नगद सहयोग प्राप्त भएको हो । प्रयोगशालाको लागि तनहुँ समाज हङकङबाट रु २ लाख र तनहुँ समाज अष्ट्रेलियाबाट २ लाख सहयोग प्राप्त भएको व्यास नगरपालिकाले जनाएको छ । हङकंङमा रहेका समाजका पदाधिकारीको पहलमा उक्त रकम संकलन गरिएको समाजका अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो । यस्तै अष्ट्रेलिया स्थित समाजका अध्यक्ष दिनेश खनाल, महासचिव सुर्य खनाल र किरण खनाल लगायतको पहलमा उक्त रकम संकलन गरिएको महासचिव खनालले जानकारी दिए ।

तनहुँ समाज हङकङको तर्फबाट समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो भने तनहुँ समाज अष्ट्रेलियाको तर्फबाट सत्यप्रसाद खनालले न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सो अबसरमा बोल्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले जिल्लाबासीलाई सुरक्षीत गर्ने अभियानमा तनहुँका १० वटै स्थानीय तह सकृय रहेको उल्लेख गर्दै सोहि अनुरुप पिसिआर ल्याब स्थापना गर्ने अभियान अगाडि बढेको बताउनुभयो । विदेशको भुमिमा मेहनत गरेर त्यसको प्रतिफललाई आफ्नो जन्मभुमिमा सहयोग गरेर हङकङ र अष्ट्रेलियाको तनहुँ समाजले प्रशंसनिय कार्य गरेकोमा नगर प्रमुख न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभयो । रकम हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङले समाजले विगत १ दशक देखी तनहुँको सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको चर्चा गर्दै पिसिआर ल्याबका लागि सहयोग गर्न पाएकोमा  खुशी व्यक्त गर्नुभयो ।

जिल्लाभर संक्रमण बढी रहेको र पिसिआर परिक्षणको नतिजा ढिलो गरी प्राप्त भएको अवस्थामा जिल्ला भित्रै पिसिआर परिक्षण गर्न सबैका लागि सहज होस् भन्ने उदेश्यका साथ व्यास नगरपालिकाको पहलमा तनहुँमै पिसिआर प्रयोगशाला स्थापना गर्न लागिएको हो ।

कार्यक्रममा व्यास नगरपालिकाका उप-प्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, प्रेस सल्लाहकार प्रदिप काफ्ले लगायतको उपस्थिति रहेको थियो । यसैविच पिसिआर ल्याबको सहयोगका लागि तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुंङले सहयोग प्रदान गर्नुभएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई पिसिआर ल्याबका लागि समाजका पुर्व अध्यक्ष गुरुङले रु.१५ हजार नगद सहयोग गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button