तनहुँ। आगामी वैशाख ३० गते हुने निर्वाचनको तयारी तनहुँमा तिव्र पारिएको छ ।

स्थानीय तहको निर्वाचनको तयारी स्वरुप बिहिबार तनहुँका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा कार्यालय स्थापना गरिएको हो ।

यता व्यास नगरपालिकामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालय जिल्ला समन्वय समिति तनहुँमा रहेकोे छ ।

जिल्लाको सदरमुकाम रहेको व्यास नगरपालिकामा तनहुँ जिल्ला अदालतका न्यायाधिश समेत रहेका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले कार्यालयको उद्घाटन गरेका हुन् ।

आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन तयारीका लागि कार्यालयहरु स्थापना गरिएको बताइएको छ ।

कार्यालयले निर्वाचन आयोगले तोकेको तालिका अनुसार कार्यसम्पादन गर्ने बताइएको छ ।

जसमा वैशाख ११ र १२ गते मनोनयन दर्ताको तालिका रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले बताए ।

त्यस्तै १२ गते नै मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची प्रकाशन गरिने उनको भनाई छ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ मनोनयनपत्र जाँच गर्ने र उम्मेदवारको विरुद्ध परेका उजुरी माथी छानविन गरी निर्णय गर्ने तालिका रहेको प्रमुख ढकालले बताए ।

वैशाख १५ गते मनोनयन भएका उम्मेदवारहरुको नामावली प्रकाशित गर्ने र १६ गते उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका रहेको बताइएको छ ।

त्यस्तै १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने बैशाख ३० गते मतदान हुने प्रमुख ढकालले बताए ।

जसमा भानु नगरपालिकामा मिन बहादुर कुवर, भिमाद नगरपालिकामा रामचन्द्र शर्मा, शुक्लागण्डकी नगरपालिकाका सरिता राईमाझी, देवघाट गाउँपालिकामा थमन सिंह, आँबुखैरेनी गाउँपालिकामा चिरञ्जीवी पौडेल, ऋषिङ गाउँपालिकामा राजेन्द्र न्यौपाने, घिरिङ गाउँपालिकामा कृतन पौडेल, म्याग्दे गाउँपालिकामा नवराज आचार्य र बन्दिपुर गाउँपालिकामा विश्वबन्धु पौडेललाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *