चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले चितवनका कांग्रेसका नेता–कार्यकर्ताले राजनीतिक लगानी र भविष्यबारे चिन्ता लिनु नपर्ने बताएका छन् ।

चितवनमा कांग्रेस भित्र बढेको असन्तुष्टि मिलाउन चितवन आएका केन्द्रीय सदस्य भण्डारीले भरतपुरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै भरतपुरलाई केन्द्रबाट विशेष प्राथमिकतामा साथ हेरिएकाले गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । गठबन्धनप्रति कांग्रेस पूर्ण जवाफदेही र जिम्मेवार रहेको भन्दै उनले त्यसमा दायाँ–बायाँ नगर्न उनले कार्यकर्तालाई आग्रह गरे ।

‘पार्टीका साथीहरुको योगदान, लगानी, क्षमताको मूल्यांकन भोलिका दिनमा पार्टीले गर्ने नै छ,’ भण्डारीले भने, ‘यो गठबन्धनका कारणले पार्टीका साथीहरुको राजनीतिक लगानी र भविष्यबारे कुनै पनि साथीहरुले चिन्ता लिनुपर्ने अवस्था छैन, यो विशेष परिस्थितिले गठबन्धन बनेको हो ।’

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन् । गठबन्धन गर्दा मेयर माओवादीलाई दिएका भन्दै यहाँका कांग्रेस कार्यकर्ताहरु असन्तुष्ट छन् । कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएर प्रचार थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *