तनहुँमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा

Byकिरण श्रेष्ठ

२८ बैशाख २०७९, बुधबार १६:१२ २८ बैशाख २०७९, बुधबार १६:१२ २८ बैशाख २०७९, बुधबार १६:१२

तनहुँ । स्थानीय तह निर्वाचनको दिन अर्थात वैशाख ३० आउन अब २ दिन मात्र बाँकी रहँदा तनहुँमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

मतदान केन्द्र र मतदान स्थलमा खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई मतदान स्थलमा खटाउने तयारी भएको छ भने निर्वाचन सुरक्षा रणनीति पनि तयार पारेर कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उम्मेदवार र राजनीतिक दलले पनि चुनावी सभा, घरदैलो अभियान र मतदाता शिक्षा सकेका छन् भने मतदाता मतदान गर्ने दिनको पर्खाइमा छन् ।

निर्वाचनलाई शान्ति र सुरक्षित रुपमा सम्पन्न गर्न जिल्लाभरका १३६ मतदान स्थल र २९७ मतदान केन्द्रलाई लक्षित गरी मतदान र मतदानअघि तथा मतगणनासम्मको अवस्थासम्मका लागि सुरक्षा रणनीति कार्यान्वयन ल्याइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम दिएर सम्बन्धित कार्यक्षेत्रमा खटाउन लागिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार हरेक मतदान केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत, सहायक कर्मचारी एवं प्रत्येक केन्द्रमा एक/एक कार्यालय सहयोगी खटाइने तयारी भएको छ ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाका अनुसार जिल्लामा २ लाख ६९ हजार थान मतपत्र एवं निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री आइपुगेको छ ।

मतदान अधिकृतलाई नियुक्ति दिएपछि मतदान स्थलका लागि आवश्यक सम्पूर्ण सामग्री बुझाएर मतदान केन्द्रतर्फ पठाइने तयारी भएको छ ।

जिल्ला सुरक्षा समितिले जिल्लाको १० स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो ।

स्थानीय प्रशासनले जिल्लामा रहेका कूल १३६ मतदानस्थलमध्ये ५ लाई अतिसंवेदनशील, ३८ वटा संवेदनशील र ९३ वटालाई सामान्य समूहमा राखेर योजना बनाएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिए ।

अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए । अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको निर्वाचन सुरक्षा मजबुद बनाउने तयारी गरिएको बताए । उनले भने, “यस पटकको निर्वाचन भएरहित वातावरणमा सम्पन्न गराउन हामीले सुरक्षा रणनीति निकै बलियो बनाएका छौँ, निर्वाचन बिथोल्ने खालका गतिविधि भए तत्काल कारबाही गर्छौं ।”

जिल्ला सुरक्षा समितिका अनुसार बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने छ भने भित्री घेरामा प्रहरीको सुरक्षा रहने छ । निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि जिल्लाका १० वटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।

निर्वाचनका समयमा जिल्लामा नेपाली सेना ३६२, म्यादी प्रहरी १ हजार १८८, नेपाल प्रहरी ८ सय २० तथा सशस्त्र प्रहरी ३२६ गरी कूल २ हजार ६९६ जना परिचालन हुने भएका छन् । साथै राष्ट्रिय अनुसन्धान विभागबाट १५ जना खटिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्लामा दुई लाख ४४ हजार ३४० जना मतदाता रहेका छन् । जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।

जिल्लामा ४४५ पदका लागि १ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *