किरण श्रेष्ठ, तनहुँ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी नै छ । तनहुँमा पनि दश मध्ये ९ वटा पालिकाको मत परिणाम सार्वजनिक भईसकेको छ ।
जिल्लामा रहेका दश मध्य व्यास नगरपालिकाको भने मतगणना जारी रहेको छ । व्यास-८ को दुई वटा मतदान केन्द्रमा जेठ ४ गते पुन: मतदान भएकाले व्यासको मतगणना गत जेठ ४ गते बुधबार राति बाट सुरु भएको थियो । सोही कारण व्यासको मतगणना जारी रहेको छ भने अन्य पालिकाको मतगणना सकिएको छ ।
जिल्लामा हालसम्म नेपाली कांग्रेस ४ वटा पालिका प्रमुख/अध्यक्ष र ४ वटा उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यस्तै नेकपा एमालेले पनि ४ वटा पालिका प्रमुख/अध्यक्ष र २ वटा उपप्रमुख/उपाध्यक्ष जितेको छ । यस्तै नेकपा माओवादी केन्द्रले एउटा गाउँपालिका अध्यक्ष र ३ वटा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।
पालिकाको नेतृत्वका हिसाबले कांग्रेस र एमाले बाराबार छ भने माओवादी पछि रहेको छ । उपप्रमुख सहित हेर्दा कांग्रेस पहिलो एमाले दोस्रो र माओवादी तेस्रो बनेको छ, तनहुँमा ।
गत २०७४ को निर्वाचनमा कांग्रेसले ६ पालिका जितेको थियो भने एमालेले ३ पालिका जितेको थियो । माओवादीले भने एक पालिका जितेको थियो ।
म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
तनहुँको म्याग्दे गाउँपालिकामा मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरे विजयी भएका छन् ।
विजयी श्रेष्ठले ४ हजार ९५० मत ल्याएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए । श्रेष्ठका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी मायादेवी रानाले ४ हजार २३२ मत प्राप्त गरिन । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी भएका हुन् ।
स्मरण रहोस गत २०७४ सालको निर्वाचनमा काङ्ग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए । गाउँपालिकाको अध्यक्षमा विजयी श्रेष्ठ नेकपा एमाले तनहुँका अध्यक्ष समेत हुन । यस्तै अध्यक्षमा पराजित राना निवर्तमान गाउँपालिकाका अध्यक्ष हुन ।
यस्तै उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे ५ हजार ३९ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रत्नादेवी घिमिरेले ४ हजार २०० मत पाएकी छिन । उपाध्यक्षमा विजयी घिमिरे यसअघि पनि उपाध्यक्ष थिए ।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार डिलबहादुर नेपालीले ९३१ र उपाध्यक्षमा उठेकी जमुना अधिकारीले एक हजार ४२ मत ल्याए ।
म्याग्देमा नेकपा एमालेले ३ वटा वडा र काङ्ग्रेसले ४ वटा वडामा वडाध्यक्ष जितेका छन् । म्याग्दे–१, ३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा नेपाली काङ्ग्रेसले जितेको छ । म्याग्दे गाउँपालिकामा ११ हजार ९४३ मत खसेको थियो । यहाँ कूल १८ हजार १०५ मतदाता रहेका छन् ।
आँबुखैरेनी गाउँपालिकामा माओवादीको ऐतिहासिक जीत
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ । माओवादीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा जितेको छ । गाउँपालिकाको अध्यक्षमा माओवादीका युवा नेता शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् ।
सोमबार राति सकिएको मतगणना अनुसार गाउँपालिकाको अध्यक्षमा चुमानले ३ हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले २ हजार २ ३० मत र नेकपा एमालेका ऋषि केसिले १ हजार ८०४ मत प्राप्त गरे । स्मरण रहोस अध्यक्षमा पराजित कांग्रेसका गिरबहादुर थापा आँबुखैरेनी गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा माओवादी कै दुर्गा अर्यालले २ हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छिन । अर्यालको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले २ हजार १८३ मत र नेकपा एमालेकी मिना अधिकारीले २ हजार १ सय २७ मत प्राप्त गरीन ।
आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित ३ वटा वडाध्यक्ष, नेपाली काग्रेसले २ वटा वडाध्यक्ष र नेकपा एमालेले एउटा वडाध्यक्ष जितेको छ ।
माओवादीले आँबुखैरेनीको वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ । यो जित ऐतिहासिक भएको माओवादी नेताहरुको भनाई छ ।
देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी
तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन ।
अध्यक्षमा नेपाली काङ्ग्रेसका तिलबहादुर थापा ४ हजार ३०६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गबहादुर थापाले ३ हजार ४८३ मत प्राप्त गरेको निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिए ।
यस्तै उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिं गुरुङ ३ हजार ७२१ मत प्राप्त गरी विजयी भएका छन् । गुरुङका प्रतिस्पर्धी नेकपा एमालेका सावित्री न्यौपानेले ३ हजार ४६७ मत प्राप्त गरे ।
देवघाट गाउँपालिकामा नेपाली काङ्ग्रेसले ३ र नेकपा (एमाले) ले २ वटा वडामा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले देवघाट वडा नम्बर २, ३ र ५ जितेको छ भने नेकपा (एमाले) ले १ र ४ वडा जितेको छ ।
कूल १२ हजार ८१५ मतदातामध्ये गाउँपालिकामा ८ हजार ६४७ मत खसेको थियो ।
ऋषिङ गाउँपालिकामा पुन: कांग्रेस विजयी
तनहुँको ऋषिङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गत २०७४ को निर्वाचनमा पनि ऋषिङ गाउँपालिकामा कांग्रेस विजयी भएको थियो ।
अहिले गत निर्वाचनमा जितेका प्रतिनिधि नै कांग्रेसले ऋषिङमा उम्मेदवार बनाएको थियो ।
सोही अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा पुन: राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा पुन: गिनु थापा मंगलबार बिजयी भएका छन् ।
विसं ०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनीहरु निर्वाचित भएर एक कार्यकाल काम गरिसकेका हुन् ।
अध्यक्षमा विजयी श्रेष्ठले ३ हजार ३३५ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी नेकपा एमाले हरिराज कँडेलले २ हजार ७९२ मत पाए । त्यसैगरी स्वतन्त्र उम्मेद्वार श्रीराम थापा पुतली चिन्हबाट ३ हजार ३३ मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा दोहोरिएकी गिनुमाया थापाले ४ हजार ४२९ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका मधुप्रसाद थापाले ३ हजार ४८९ मत पाएका छन् ।
ऋषिङ गाउँपालिकाको ८ वटा वडा मध्य नेपाली काँग्रेसले २,३,४,५ र ६ जितेको छ । ऋषिङ्ग-१ नेकपा माओवादी केन्द्रले जितेको छ भने ऋषिङ ७ र ८ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । गत निर्वाचनमा पुरै पालिका क्लिन स्विप गरेको नेपाली कांग्रेसले यसपालिका ३ वटा वडा जित्न सकेन ।
घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराएर एमाले विजयी
तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमश: नेकपा एमालेका होमबहादुर थापा र राधादेवी अधिकारी निर्वाचित भएका छन् ।
तीन दलीय गठबन्धनलाई पराजित गर्दै घिरिङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको हो ।
अध्यक्षमा विजयी थापाले ४ हजार ३३१ मत पाएका छन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका गंगाराम कुमालले ३ हजार ५५४ मत पाए ।
यस्ता उपाध्यक्षमा विजयी नेकपा एमालेकी अधिकारीले ४ हजार ४८१ मत पाएकी छिन । उनको प्रतिष्पर्धी नेकपा (एकिकृत समाजवादी)का पुर्ण बहादुर थापाले २ हजार ७४७ मत पाए।
घिरिङ्गमा सम्पन्न मतगणना अनुसार गाउँपालिका अध्यक्ष , उपाध्यक्षसहित वडा-२, ३ र ४ नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेस वडा नम्बर १ र ५ मा विजयी भएको छ ।
बन्दीपुर गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
तनहुँको बन्दीपुर गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमालेका सुरेन्द्र बहादुर थापा विजयी भएका छन् । थापाले ३ हजार २२९ मतसहित विजयी भएका हुन् ।
उनले आफ्ना प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिं थापा र नेपाली कांग्रेसका ध्रुबलाल प्रधानलाई हराउदै गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।
थापाले ३ हजार १६६ मात र प्रधानले २ हजार ७८९ मत पाएका छन् । अध्यक्षमा पराजित थापा गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ विजयी भएकी छिन । गुरुङले ३ हजार २७ मत पाएर विजयी भएकी हुन् । विजयी गुरुङले आफ्नो प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रकी करुणा गुरुङलाई २ मतले हराएर उपाध्यक्षमा विजयी भएकी हुन् । पराजित करुणाले ३ हजार २५ मत पाएकी छिन । यस्तै एमाले-जोशी समुह (स्वतन्त्र) केश माया गुरुङले १ हजार ५९५ मत पाईन ।
उपाध्यक्षमा पराजीत करुणा गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन । अहिले उनले जम्मा २ मतले कांग्रेसकी पञ्चमाया गुरुङ संग पराजित भईन ।
गाउँपालिकाको अध्यक्षमा ६३ र उपाध्यक्षमा २ मतान्तर परेको छ । बन्दीपुर गाउँपालिका कुल १० हजार २०५ मत खसेको थियो । गाउँपालिकामा कुल १५ हजार ६३८ मतदाता छन् ।
बन्दीपुर गाउँपालिकामा ६ वटा वडामा नेकपा एमालेले ३ वटा वडा, नेकपा माओवादीले २ वटा वडा र नेपाली कांग्रेसले एउटा वडा जितेको छ । एमालेले बन्दीपुर-१ , ४ र ६, माओवादीले २ र ५, कांग्रेसले ३ नम्बर वडा जितेको छ ।
भिमाद नगरपालिकामा गठबन्धनलाई हराउदै एमाले विजयी
तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेले प्रमुख, उपप्रमुखसहित ५ वटा वडा जितेको छ ।
भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । सुवेदीका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत पाए ।
यस्तै उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी भएकी छिनं। खनालको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका मिलन आलेले ७ हजार २०५ मत पाए ।
भिमाद नगरपालिकाको वडा नम्बर २, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ । नेपाली काङ्ग्रेसले भिमाद-१, ४, ५, ६ जितेको छ ।
कूल जम्मा २४ हजार ८८४ मतदाता रहेको भिमाद नगरपालिकामा १६ हजार १४९ मत खसेको थियो ।
शुक्लागण्डकी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी
तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ ।
नगरप्रमुख (मेयर)मा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुख (उपमेयर)मा नेकपा माओवादी केन्द्रका खुम बहादुर विक (राजु) विजयी भएका छन् ।
मेयरमा विजयी पण्डितले १२ हजार २६३ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिम्सिनाले ९ हजार ८४० मत पाएका छन ।
मेयरमा विजयी पण्डितले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गरेका थिए ।
यता उपमेयरमा विजयी विकले १० हजार २६२ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालीकी फुलमाया वाग्लेले ९ हजार ९५७ मत पाएकी छिन ।
शुक्लागण्डकी नगरपालिकामा ३८ हजार ३१५ मतदाता रहेकोमा वैशाख ३० गते २५ हजार ९९७ मत खसेको थियो ।
शुक्लागण्डकीको १२ वटा वडा मध्य नेपाली काङ्ग्रेसले नम्बर १, २, ३, ४, ७, नेकपा एमालेले ५, ६, ८, ९, ११, १२ र नेकपा माओवादी केन्द्रले वडा नम्बर १० जितेको छ । शुक्लागण्डकी नगरपालिकामा ३८ हजार ३१५ मतदाता रहेकोमा वैशाख ३० गते २५ हजार ९९७ मत खसेको थियो ।
कुन वडामा को विजयी ?
शुक्लागण्डकी-१ को वडाध्यक्षमा रविचन्द्र पौडेल, शुक्लागण्डकी-२ को अध्यक्षमा सुमन मगर, शुक्लागण्डकी-३ को अध्यक्षमा सचिन भुजेल, शुक्लागण्डकी-४ को अध्यक्षमा राजकुमार वाग्ले, शुक्लागण्डकी-५ को अध्यक्षमा दीर्घबहादुर थापा, शुक्लागण्डकी-६ को अध्यक्षमा बुद्धि थापा, शुक्लागण्डकी-७ को अध्यक्षमा खड्गसिं थापा, शुक्लागण्डकी-८ को अध्यक्षमा नारायणसिं थापा, शुक्लागण्डकी-९ को अध्यक्षमा धनबहादुर थापा, शुक्लागण्डकी-१० को अध्यक्षमा राजेन्द्र भट्टराई क्षेत्री, शुक्लागण्डकी-११ को अध्यक्षमा शालिकराम भट्टराई र शुक्लागण्डकी-१२ को अध्यक्षमा इन्द्र गुरुङ विजयी भएका छन् ।
भानु नगरपालिकाको कांग्रेस विजयी
तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे निर्वाचित भएका छन् ।
मेयरमा विजयी त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सीताराम बजगाईंले ९ हजार ४३ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा निर्वाचित गोतामेले १० हजार ५४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत पाए ।
४० हजार ९६६ मतदाता रहेको भानु नगरपालिकामा २५ हजार ५७२ मत खसेको थियो । १३ वडामध्ये कांग्रेसले ९, एमालेले २ र स्वतन्त्रले २ वडामा जित हासिल गरेका छन् ।
कुन वडामा को विजयी ?
भानु-१ को वडाध्यक्षमा काङ्ग्रेसका कान्छीमाया तामाङ, वडा नम्बर २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा काङ्ग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा काङ्ग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा काङ्ग्रेसका नहकुल अधिकारी, ६ को अध्यक्षमा काङ्ग्रेसका धिरेश खनाल, ७ को अध्यक्षमा काङ्ग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा काङ्ग्रेसका इश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मिन गुरुङ, १० को अध्यक्षमा काङ्ग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२ वडा नं १२ मा काँग्रेसका बेलबहादुर अधिकारी र वडा नं १३ स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी बिजयी भएका छन् ।