तनहुँ । साखरमा शुक्रबार झिसमिसे मै सडक भासिँदा तीन वटा सवारी साधन खसे । सवारी संगै खसेका मध्य २ जनाको शव फेला परेको छ ।
अन्यको अवस्था अज्ञात नै रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्डको मर्स्याङ्दी जलविद्युत परियोजनाको सुरुङ नजिकै आँबुखैरेनी-४ साखरमा सडक भासिँएको प्रहरीले जनाएको छ ।
मर्स्याङ्दी नदि किनारबाट गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे र मकवानपुरको हेटौंडाका ३३ वर्षीय यमबहादुर भुजेलको शव निकालेको प्रहरीले जनाएको छ ।
शव भेटिए पनि केशव चढेको ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला पार्न सकेको छैन । भुजेल भने पहिरोमा नै पुरिएको बा १० च ४६७९ नम्बरको कारका चालक रहेको प्रहरीले जनाएको छ ।
सडकको भित्ता काटेर एकतर्फी सवारी पास गराइएको छ भने दुई तर्फी पास गराउन केहि दिन लाग्ने प्रहरीले जनाएको छ ।
पछिल्ला वर्षहरुमा पृथ्वी राजमार्गमा यस्ता घटना बढ्दै गएका छन् ।
गएको ६ साउन २०७७ मा पनि तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा यसैगरी सडक भासिएको थियो ।
निर्माणपछि पृथ्वी राजमार्गको आवधिक मर्मत २०४९ सालमा मात्रै भएको थियो । त्यतिबेला पनि राजमार्गका सुरक्षात्मक पर्खालहरुको मर्मत भएन । न त नदी कटानमा परेका भागबारे अध्ययन र मर्मत नै भयो ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार नदीले सडक तलको भाग काट्दै गएर कोप्चेरो बनाएपछि भाँसिएको देखिएको छ । उनका अनुसार सडक मुनिको भाग नदीले भित्रीसम्म खोक्रो बनाइसकेको पत्तो थिएन । ‘२०३१ सालमा बनेको सडकको कडा चट्टानसहितको यो भागमा ५० वर्षसम्म समस्या देखिएको थिएन ।’ उनले भने ।
नेपालका अधिकांश राजमार्ग, सहायक राजमार्ग, रणनीतिक सडक र ग्रामीण सडकको कथा उस्तै छ ।
खाल्डा टाल्ने र सानातिना पहिरो खस्दा रोकथाम गर्ने बाहेकको काममा सरकारको ध्यान जान सकेको छैन । जीर्ण बन्दै गएका सडकमाथिका भित्ता र मुनिका कान्ला बलियो बनाउने प्रयास भएको छैन ।
केही वर्षयता राजमार्गहरुमा बाढीपहिरोले क्षति बढाउँदै लगेको छ । पुल र कल्भर्टहरुमा क्षति बढ्दो छ । रेखदेख र मर्मतमा ध्यान नदिँदा सडकमा हुने क्षतिको दर वर्षैनी बढ्दो छ । यो अवस्थामा पनि नियमित अनुगमन गर्ने र अवस्था हेरेर मर्मत–सुधार गर्ने योजना सडक विभागसँग छैन ।
विज्ञहरु वर्षौंदेखि भत्किएका सडक खण्डहरु मर्मतका नाममा पिच गर्ने तर, अन्य भाग नहेर्ने सडक बिभागको कार्यशैलीलाई गैरजिम्मेवार भन्छन् ।
नेपालमा भने दशकौंपछि आवधिक मर्मत गर्दा समेत सडकका सहयोगी संरचना सुधार गर्न चासो दिने गरिएको छैन । सडकको आडैमा बगिरहेका र ‘क्रस’ हुने नदी, खोला, खोल्सा र नालामा पानी नियन्त्रण पनि नियमित योजनामा पर्ने गरेको छैन ।
यसले गर्दा वर्षामा आउने भेलले सिधै पुल र कल्भर्टमा क्षति पुर्याउने गरेको छ । वर्षाैंदेखि नदीले कटान गरेर खोक्रो बनाइसक्दा पनि विभागले पत्तो नपाउने अवस्था विद्यमान छ ।
यस्तो समस्या समाधान गर्न अन्य देशका अभ्यासहरुलाई आत्मसात गर्न सरकार उदाशीन छ । जापानलगायत मुलुकले सडकमा जाने पहिरो रोक्न बायोइन्जिनियरिङ (साबो टेक्नोलोजी)को ब्यापक अभ्यास गरेका छन् ।
बाँस, बाबियोलगायत घाँस तथा बुट्यानहरु रोपेर पहिरो रोक्ने बायोइन्जिनियरिङ पृथ्वी राजमार्गको कृष्णभीरमा सफल भयो । कम खर्चिलो र प्राकृतिक रुपमै सडक संरक्षण गर्न सकिने यस्तो उपायमा सडक विभागको यथेष्ट ध्यान गएको छैन ।