बर्खासँगै विपद् सुरु, तनहुँमा विपद् प्रतिकार्य पूर्वतयारी फितलो

Byकिरण श्रेष्ठ

१९ असार २०७९, आईतवार १२:३७ १९ असार २०७९, आईतवार १२:३७ १९ असार २०७९, आईतवार १२:३७

तनहुँ । तनहुँमा मनसुन सक्रिय भएर वर्षा सुरु भएपनि विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्वतयारी भने फितलो छ । बाढी र पहिरोका हिसाबले जिल्लाको विभिन्न स्थान उच्च जोखिममा छन ।

स्थानीय प्रशासनले विपद् प्रतिकार्यका लागि पूर्वतयारी भइरहेको बताए पनि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बन्न सकेको छैन । तनहुँमा मनसुन सुरु भएसँगै विभिन्न विपद्का घटना हुन थालेका छन् । खोलाले बगाउँदा मानवीय क्षति पनि भएको छ । सडक, बाटो, खानेपानि, विद्युत लगायतमा पनि भौतिक क्षति पुगिसकेको छ ।

जिल्लामा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई खोलाले बगाउदा घाइते र मृत्यु समेत भएको छ ।

जिल्लाका स्थानीय तह प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्धार र पुनर्स्थापना लागि विपद् पूर्वतयारीमा जुटेका बताउछन । तर पनि सक्रिय भूमिका भने कमै देखिएको छ ।

करिब ३ हप्ता अघि जिल्ला प्रशासनमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा तनहुँका दशैँ स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि आ आफ्नो ठाउँमा जुट्ने जनाएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश आर्यालले जानकारी दिए ।

पूर्वसूचना प्राप्त, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनर्स्थापना लागि अन्तरपालिका बीच हातेमालो हुनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । उनले भने,“मनसुन भित्रिन थालेकोको छ । योजना सहितको पूर्वतयारीमा सबै स्थानीय तह एकजुट हुनु आवश्यक देखिएको छ ।”

भानु-५ का स्थानीय राम कुमार श्रेष्ठले बाढी पहिरो, सडक अवरुद्ध, खाद्यान्न आपूर्ति, पुनर्स्थापना, उपचार लगायतका राहत उद्धारका कार्य छिटो छरितो गर्नका लागि सडक, खाद्य,स्वास्थ्य, कृषि लगायतका सरोकारवाला निकाय तैनाथ हुनु पर्ने बताउछन् ।

नदी अतिक्रमण रोक्नु पर्ने, डोजरे विकास अन्त्य गर्नुपर्ने, वृक्षारोपण गर्नु पर्ने र विपदमा पूर्वतयारीको ठोस योजना बनाई सतर्क हुनु पर्नेका तनहुँका राजनीति दलको सुझाव छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले मनसुनजन्य विपद् व्यवस्थापनका लागि प्रशासन तयारी अवस्थामा रहेको जानकारी दिए । उनले सहायक सीडीओको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमै रहेको जानकारी दिए ।

सीडीओ अर्यालका अनुसार मनसुनजन्य विपद् व्यवस्थापनका लागि जनशक्ति तयारी अवस्थामा छन् । जसमध्ये सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना, स्वास्थ्यकर्मी लगाएतका जनशक्ति रहेको प्रजि अर्यालले बताए ।

मनसुन सुरु भएसंगै यसपालि छिट्टै वर्षा भएको थियो । पछिल्लो दिनहरुमा समेत दैनिक जसो पानि पर्ने गरेको छ । अविरल वर्षाले जिल्लाको भानु नगरपालिकामा बढी क्षती पुर्याएको प्रजिअ अर्याल बताउछन । उनले अगाडी भने ‘जिल्लाको अन्य पालिका पनि क्षती पुगेको छ तर अहिलेसम्म भानु नगरपालिकामा बढी क्षती भएको छ ।’

केहि समय अघि जिल्लाको आँबुखैरेनीमा सडक भासिदा केहि दिन पृथ्वी राजमार्ग अवरुद्द बनेको थियो । सोही घटनामा दुई जनाको मृत्य समेत भएको थियो । यता डुम्रे-बेसिशहर सडकखण्डमा पनि सडक भासिदा सडक अवरुद्द भएको थियो ।

जिल्लाको ग्रामिण सडक अधिकांश अवरुद्ध रहेका छन् । गाउँबाट बजार आउँन साधनमा भन्दा पैदल छिटो हुने गरेको भानु-७ का श्याम बहादुर राना बताउछन । ठाउँ-ठाउँमा पहिरो जाँदा अहिले ग्रामिण सडक आरुद्ध जस्तै रहेको छ ।

यता शुक्रबार भानु नगरपालिकाको विपतद ब्यवस्थापन समितिकाे बैठकले विपद् आईलाग्ने अवस्था र कारण, उद्दार एवं राहतका विषयमा छलफल गरेको छ ।
नपाका प्रमुख एवं नगर विपद् ब्यवस्थापन समितिका संयाेजक आनन्दराज त्रिपाठीले विपद् आउनु पूर्व सावधानी अपनाउनु पर्ने, विपदमा जाेगिने उपाय, तत्काल उद्दार र राहतकाे ब्यवस्थापनमा भानु नगरपालिका सदैब सचेत रहेकाे बताउछन ।

उनि भन्छन ‘भानु नपामा नेपाली सेनाकाे रुरु भैरब दल गण, शसस्त्र प्रहरी बल मनकामना गण, नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय भानु, नेपाल रेडक्रस , स्थानीय जनप्रतिनिधि लगाएत सँग सहकार्य गरी कार्य गर्ने रणनीतिक याेजनार पर्याप्त जनशक्ति रहेकाे कारण विपद् ब्यवस्थापनमा भानु नपा अग्रस्थानमा रहनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *