तनहुँ । तनहुँमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ सय २८ जनाले सम्बन्ध विच्छेद गरेका छन् ।

जिल्लामा कानुनीरुपमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिन बहादुर कुँवरले जानकारी दिए ।

चालु आवको पछिल्लो ९ महिनाको अवधिमा ४ सय २८ थान सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा फैसला भएको छ ।

सम्बन्ध विच्छेदका लागि दायर भई विचाराधीन रहेका कूल ५ सय ६१ थान मुद्दामध्ये १ सय ३३ मुद्दा फछ्र्योट हुन बाँकी छ । ती मुद्दाको मिसिल प्रक्रियागतरूपमा अगाडि बढिरहेको अदालतका श्रेस्तेदार कुँवरले बताए ।

उनका अनुसार न्यायका लागि तनहुँ जिल्ला अदालतमा दायर भएका मुद्दा छिटोछरितो तवरले फछ्र्योट हुन थालेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्तसम्म दायर भएका १ हजार ४ सय ४५ थान र गत वर्षको जिम्मेवारी सरिआएको १ हजार १ सय ३५ थान समेत गरी २ हजार ५ सय ८० मुद्दामध्ये १ हजार ३ सय १९ थान फैसला भएका कारण न्यायसम्पादन छिटोछरितो भएको यहाँका बासिन्दामाँझ आभास भएको छ ।

फैसल भएका मुद्दामा धेरै सङ्ख्यामा सम्बन्ध विच्छेद एवं बहुविवाह रहेका छन् भने अन्य मुद्दामा लिखत बदर, अभद्र व्यवहार, जालसाजी, गर्भपतन, अंशबण्डा, सवारी ज्यान, माना चामल, जग्गा खिचोला, सार्वजनिक हित, चेक अनादर, ठगी, अवैध विदेशी विनियम, बालयौन दुरूपयोग जस्ता विविध प्रकारका रहेका छन् ।

धेरैजसो सानो उमेर समूहका किशोरकिशोरी सम्बन्ध विच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, बिहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ ।

अंश दाबीबिना सम्बन्धविच्छेद गरी पाउ भनेर समेत मुद्दा दर्ता गर्ने गरेको देखिन्छ । अंशदाबीसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा फैसला हुन एक वर्ष कुर्नुपर्ने र अंशदाबी नगर्दा तीन महिनाभित्रै मुद्दा फैसला हुने भएकाले अधिकांशले अंशदाबीविना नै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको कुँवरले बताए ।

महिला अघिकारकर्मी बसुन्धरा घर्तीका अनुसार , “वैदेशिक रोजगारीले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको छ ।” सम्पत्ति नलिएरै सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या धेरै छ ।

सम्पत्ति माग दाबीसहित गरिने सम्बन्ध विच्छेदको प्रक्रिया लामो हुन्छ । यसरी सयौँ परिवार विखण्डन हुँदा सामाजिक विग्रह पनि बढ्दै गएको घर्तीले बताईन। सम्बन्ध विच्छेद गरेकाहरुका छोराछोरीको शिक्षा, स्वास्थ्य तथा पालनपोषण प्रभावित हुने गरेको पाइएको छ ।

सम्बन्ध विच्छेदका अन्य कारणमा वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयाेग, मादक पदार्थको सेवन, कुटपिटलगायत हिंसा लगायत छ ।

अदालतको फैसलाबाट गत विगतदेखि हालसम्म तोकिएको कुल रू ९ करोड ९४ लाख ४ हजार ४२१ जरिवानामध्ये ४२ लाख २६ हजार ४३८ असुल भई नेपाल सरकारको राजस्व खातामा दाखिला भइसकेको अदालतका श्रेस्तेदार कुँवरले जानकारी दिए ।

विसं २०५९ देखि तनहुँ जिल्लामा अदालत स्थापना भएपश्चात् क्रमिकरूपमा स्थानीय बासिन्दा न्यायालय खोज्दै अदालत जाने वातावरणको विकास बन्दै गएको तनहुँका नागरिक समाजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *