किरण श्रेष्ठ, दमौली ।  उमेरले उकाली लागेपनि कल्पना गौलीको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ५३ वर्षीय उनको पहिचान शिरमा बासको चोयाको टोपि शरीरमा चोलो र ट्राउजर हो । बढ्दो उमेर तर हरपल अनुहारमा मुस्कान उनको अर्को पहिचान र व्यक्तित्व हो ।

उनको फार्ममा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ संगै कर्कलो, अदुवा, बेसार, कुरिलो, गिठ्ठा भ्याकुर , सुर्यमुखी फुल, सिस्सो र मौसमअनुसारको तरकारी देखिन्छन् । एक वर्ष अगाडि लगाएको ड्रागनको बिरुवाले अहिले फल दिन थालेपछि उनी दङ्ग छिन् । बिहान सबेरैदेखि रातिअबेरसम्म बारीमा बिताउने उनलाई खान लाउनको कुनै समस्या छैन ।

प्रकृति माँको गर्दै आराधना, सम्वृद्ध राष्ट्रको गरौ कामना भन्ने मूल नारा सहित उनले ‘माँ अम्बे अलौकिक कृषी फर्म’ संचालन गरेकी छिन ।

छोराबुहारी दुवै जना अष्ट्रेलियामा बस्छन् । उनी आफैँ पनि पुर्व शिक्षिका हुन् । उनले १६ वर्ष शिक्षण पेसा गरिन । सानो उमेरमा सिलाई बुनाई तर्फ रुचि भएकी उनि अहिले अर्गानिक कृषि उत्पादनमा मस्त छिन । विषादी रहित खेतिको बारेमा जानकारी पाएपछि उनि कौशी खेति तर्फ आकर्षित हुन पुगिन, अनि उनले आफ्नै घरको छतमा कौशी खेति गरिन, अरुलाई पनि तालिम दिईन ।

अब भने उनको ध्यान जैविक खाना तर्फ छ, त्यसका लागी विषादी रहित खानेकुरा उत्पादनका लागी कृषि कर्ममा जुटेकी छिन । उनको आफ्नै स्वास्थ्यमा आएको परिवर्तन, प्रकृति संग रम्न पाउँदाको मज्जा आदी कारणले उनि आफु कृषिकर्म तर्फ लागेको बताउछिन । उनि भन्छिन ‘खेतिलाई पूजा गर्नुपर्छ । आफु संगै अरुलाई पनि विषादी रहित खानेकुरा खुवाउने मेरो लक्ष्य हो ।’

उनले मात्रै एक वर्ष अगाडिदेखि व्यवसायिक ड्रागन फ्रुट्स खेती गर्न थालेकी हुन् । माटोलाई सुहाउने र सुन्दर देखिने अनि सबै खाले बिरामीहरुले खान हुने भएकाले पनि उनि यस तर्फ लागि परेकी छिन । यो नेपालका लागी नयाँ खेति भएको उनि बताउछिन । ‘अन्यले विषादी प्रयोग गरेर खेती गरेका छन तर म विषादी रहित उत्पादन तर्फ लागेकी छु ।’ गौली बताउछिन ।

उनि एकल महिला हुन । छोराले आफ्नो कर्मथलो विदेश नै हो भनेर बसेपछि अहिले घरमा गौली मात्र छिन । सुखले आराम गरेरै खान्छु भनेपनि उनलाई सहजै पुग्छ तर उनी बाचुञ्जेल काम गर्नुपर्ने मान्यता राख्छिन ।

तनहुँको व्यास नगरपालिका-२ दमौली मुख्य बजारकी गौलीले दमौली बजारभन्दा पारि व्यास नगरपालिकाको ५ नम्बर वडा स्थित ढोडेनीमा ड्रागन फ्रुट्स सहित अन्य खेती गरेकी छिन ।

रोजगारी मुलक काम कम, तलब र ज्याला न्यून हुँदा नेपाली विदेश जाने गरेको उनि बताउछिन । ‘अधिकांश नेपालीहरु बढी सोखिन भए ।’ गौलीले भनिन । उनका अनुसार जैविक खेतिको लागी सर-सल्लाह दिने व्यक्ति कमि छ । ‘नयाँ खेतिको लागी सहि कृषक पहिचान गरि विज्ञ मार्फत तालिम दिनुपर्छ ।’ गौलीले भनिन ‘देशमा हुदैन भने विदेशमा समेत लगेर तालिम दिनुपर्छ ।’

‘गाउँमा दिनप्रति दिन घर रित्तिदैछन् । युवा शक्ति विदेश पलायन भइरहेका छन् भने, गाउँमा भएका बालबालिका र वृद्धवृद्धा पनिछोराछोरीले बजार लगेर राख्न थाले । खेतीयोग्य जमिन वनमाराले ढाक्न थाल्यो ।’ उनि दुखेसो पोख्छिन । ‘आजभोलि सामाजिक संजालको दुरुपयोग भयो।’ उनि भन्छिन ‘रेमिटेन्सको भर पर्दा गाउँमा जमिन बाझो बस्न थाल्यो ।’

कुनै बेला गरी खाने ठाउँ नहुँदा भोकभोकै बस्ने स्थानीय अहिले उर्वर भूमि बाँझो छोडेर विदेश तथा सहर पसेपछि उनीहरुलाई गाउँमा कसरी फर्काउने भन्ने चिन्ताले अचेल कल्पनालाई सताउछ ।

विदेश जाने युवा र बजार पस्ने स्थानीयलाई यहि केहि गर्न सकिन्छ भन्ने उदाहरण दिन आफूले व्यावसायिक रुपमा खेती गर्न थालेको कल्पना बताउँछिन । खेतीयोग्य जमिनको सदुपयोग गरि उत्पादन वृद्धि गरी मनग्य आम्दानिको वातावरण सिर्जना गर्ने सकिने उनको भनाइ छ । राज्यले सहयोग गरे युवा पलायन रोक्न सकिने उनि बताउछिन । कामको आधारमा अनुदान र लगानीको मुल्याङ्कन गरी समय मै अनुदान राज्यको तर्फबाट दिनुपर्ने गौली बताउछिन ।

ड्रागनलाई बेमौसमी रुपमा पनि फलाउन सकिने तर उक्त प्रविधिको लागी राज्यले अनुदान दिनुपर्ने उनि बताउछिन । आफ्नै ठाउँमा पनि आम्दानीका धेरै स्रोत हुँदाहुँदै पनि युक्त शक्ति विदेश पस्नु गलत भएको गौली बताउँछिन । पछिल्लो समय आधुनिक प्रविधिका कारण कृषिलाई सहज बनाएको र उत्पादन बढाउन टेवा पुर्‍याएको भन्दै युवालाई त्यसतर्फ आकर्षित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । प्रविधिको प्रयोग गरी उत्पादन गुणस्तरिय पनि बनाउन सकिने उनि बताउछिन ।

‘उमेरले केही फरक पार्दैन, शरीरमा बल छ, काम गर्ने सिप छ, मलाई यतिकै बसेर खान पनि पुग्छ तर म बाजुञ्जेल सक्रिय जीवन बिताउनुपर्छ भन्ने लाग्छ, अहिले गाउँका सबै घर बारी खाली हुन थाले, अब मान्छेलाई कसरी गाउँमा टिकाउने होला ?,’ उनले भनिन, ‘अब गाउँका लाई बजार जानबाट रोक्नुपर्छ, यहीँ मैले लाखौँ कमाए भने, अरुले पनि त्यो सिकेर गाउँमै रोक्न सकिन्छ कि भन्ने लागेको छ, अरुलाई पनि खेती गरी आम्दानी राम्रो हुन्छ भनेर सिकाएको छु ।’

‘प्रकृति सँग नजिक हुनुपर्छ । उनि भन्छिन ‘म ५३ वर्षको भए तर ३५ वर्षको जस्तो लाग्छ ।’ उनले अहिले एक परिवारलाई स्थायी रोजगारी दिएकी छिन । आवश्यकता परेको बेला २० जना सम्मलाई रोजगारी दिने गरेको उनि बताउछिन ।

बारीमा काम गर्नुका साथै उनले वरपरका युवा र स्थानीयलाई नेपाल मै बस्न प्रेरित पनि गर्छिन् । सरकारले गाउँका मान्छेलाई गाउँमै रोक्न नसके राज्य परनिर्भर भन्ने चिन्ता उनमा छ ।

७ रोपनी जमिनमा रु ४२ लाख ५० हजारबाट सुरु गरेको ड्रागन फ्रुट्स खेती संगै अन्य खेति ढाउँदै जाने सोचमा छन्, उनी । उनले लगाएका ड्रागनका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् । ५ पटक उत्पादन दिन थालेका बिरुवा दुई महिना मा साढे ५ क्विन्टल बढी ड्रागन फ्रुट्स बिक्री गरेको उनको भनाइ छ । अहिले सम्म उनले कुल ८० लाख लगानी गरेको बताउछिन । उनले २० वर्षका लागी ९ रोपनी जग्गा भाडामा लिएर खेति गरिरहेकी छिन ।

‘ड्रागन फल बहुगुणी र पौष्टिक तत्वयुक्त हुन्छ, महँगो पनि पर्छ, मैले अहिले बेच्ने भनेको हाम्रै दमौलीमा मात्रै हो, अहिले बजारको अभाव छैन । उनले भनिन ‘अब ड्रागन फ्रुट्सलाई ब्राण्डिङ र ग्रेडिङ गर्दैछौ ।’

यसको मूल्य अहिले एक किलोको ५ सयदेखि ६ सय रुपैयाँसम्म पर्छ, अर्को वर्ष यसको दोब्बर तेब्बर फल्ने आँकलन गरेको छ, यसरी गाउँमा फल्ने उत्पादनलाई बजार बठाउन सके गाउँमै पनि लाखौँ आम्दानी गर्न सकिन्छ, विदेशबाट फलफूल आयात गर्न पर्दैन’ उनले भनिन।

उनले नगरपालिकाले कृषकका लागि बनेर करोडौँ बजेट खर्च गरेको भन्दै अहिलेसम्म आफूले कुनै पनि सहयोग नपाएको गुनासो गरिन । तर अब भने सहयोगको आश्वासन पाएको उनले बताईन । उनले थपिन ‘नगरपालिकाबाट मेयर, उपमेयर लगाएरको टिम गएर फार्म हेर्नु भएको छ । अब सहयोग पाउछु भन्नेमा ढुक्क छु ।

स्थानीय सरकारले भूगोल र माटो अनुसार कृषकलाई उन्नत जातका बीउबिजन प्रदान गर्ने र समय-समयमा तालिम परामर्श दिएर व्यावसायिक बनाउन प्रेरित गरे धेरै युवा विदेश जानबाट रोकिने उनको भनाइ छ । पछिल्लो समय युवा शक्तिमा स्वदेशमा काम गर्न गाह्रो हुने भन्दै विदेशमा उनीहरुलाई आनन्द नभएको गौलीले बताईन ।

उनले भनिन, ‘काम गर्न पर्‍यो, काम गर्ने हो भने लाखौँ कमाउन सकिन्छ, आफ्नो गाउँ घरमा बारीमा काम गर्न लाज मान्ने, विदेश गएर जे काम गर्न पनि तयार भएर हुन्छ ?, आफ्नो भूमिमा स्वाभिमानका साथ कर्म गर्ने हो भने, लाखौँ रकम यहाँ पनि कमाउन सकिन्छ, मेरा पनि छोरा भतिज विदेश गएका छन्, उनीहरुलाई त्यहाँ आनन्द छैन, जति आनन्द यहाँ छ ।’

उनि भन्छिन ‘युवामा धैर्यता हुनुपर्यो, योजना हुनुपर्यो अनि जुन काम गर्ने हो त्यो बारे गरी जानकारी लिनुपर्यो अनि मात्रै सोचेअनुरूप काम गर्न सकिन्छ ।’ त्यसका लागी राज्य महत्वपुर्ण सहयोग भने गर्नुपर्ने उनि बताउछिन ।

उनले उत्पादन गरेको ताजा फलफुल र तरकारी बजारमा कनै खपत हुन्छ बाँकी सुकाएर राखिएको तरकारी व्यास कोशेली घरमा पनि किन्न सकिने गौली बताउछिन । तनहुँमा उत्पादित दलहन, तेल, हस्तकलाका सामान, सुकाएका तरकारी, अचार, कैदिबन्दीले बनाएको सामग्री आदी कोशेली घरमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *