दमौली । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा तनहुँको दमौलीमा दुई दिने जलवायु परिवर्तन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा दमौलीका भुजेल महिलाहरुलाई प्रशिक्षक इन्दिरा श्रेष्ठले जलवायु परिवर्तनका असर, समाधानमा उपाय लगाएत विभिन्न विषयमा प्रशिक्षण दिएकी थिइन् ।
उक्त दुई दिने तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि भुजेल महिला समाजकी केन्द्रिय अध्यक्ष बसुन्धरा घर्तीले तालिममा सिकेका कुरा आफ्नो दैनिक जीवनमा उतार्नुपर्ने बताई । ‘तालिमलाई तालिममा मात्रै सिमित राख्नुहुँदैन’ उनले भनिन ‘सिकेका कुरा अरुलाई पनि सिकाउनुपर्छ ।’
आदिवासी त्यसमा पनि भुजेल जातिको महिला पछाडी रहेकाले तालिमको माध्यमबाट नयाँ कुरा सिकाउने मौका मिलाईएको उनले बताईन । उनले थपिन ‘जलवायु परिवर्तनका विषयमा सबै जना सचेत हुनुपर्छ ।’
नेपाल आदिवासी महासंघ तनहुँका वरिष्ठ उपाध्याक्ष नन्दु थापाले जलवायु परिवर्तनको असर बढ्दै जाँदा भविष्यमा मानवको अस्तित्व नै लोप हुने अवस्था आउने बताए । यसमा असरबाट बच्न र समाधानको उपाय बेलैमा अप्नाउन जरुरी रहेको उनले बताए ।
त्यस्तै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) तनहुँका अध्यक्ष किरण श्रेष्ठले पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसममा समेत असर देखिएको बताए । उनले भने ‘हिमालमा हिउँ कम हुँदै जान थालेको छ, सेता हिमाल काला देखिन थालेका छन् ।’
‘जलवायु परिवर्तनको असर हाम्रो दैनिक जीवनमा समेत परेको छ ।’ उनले भने ‘पानि पर्ने समय नै परिवर्तन हुन थालेको छ, जसले गर्दा कृषि क्षेत्रमा समेत असर पर्न थालेको छ ।’
समापन कार्यक्रमकी अध्यक्ष राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी जनसम्पर्क सचिव रिना बरामले भुजेल महिलाको सहभागीता र सिक्न खोज्ने बानिले खुशी लागेको बताईन । उनले पनि सिकेका कुरा व्यवहारमा उतार्न तालिममा सहभागी महिलालाई जोड दिईन ।
सो कार्यक्रममा सहभागी महिलाहरु मध्य १६ जनाको समुह गठन गरी सिड मनि ३५ हजार रुपैयाँ समेत आयोजकले हस्तान्तरण गरेको छ । सो रकमबाट उक्त समुहका महिलाले लगानी गरी विभिन्न उत्पादन मुलक काममा उपयोग गर्नेछन ।
कार्यक्रमको संचालन राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कर्मचारी हिरा तामाङले गरेकी थिइन् ।