लागुऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धि जनचेतनामुलक लघु चलचित्र ‘संगत’ प्रदर्शन

Byखवरबाटिका

२७ फाल्गुन २०८०, आईतवार १८:१२ २७ फाल्गुन २०८०, आईतवार १८:१२ २७ फाल्गुन २०८०, आईतवार १८:१२

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ र जेसिआइ व्यास नगरको आयोजनामा आइतबार लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दमौलीका स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुको माझ ‘सङगत’नामक जनचेतनामुलक लघु चलचित्र प्रदर्शन गरिएको हो ।

खैरहनी नगरपालिका र इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा निर्माण गरिएको ४५ मिनेटको लघु चलचित्र ‘सङगत’ प्रदर्शन गरिएको छ । किशोर चौधरीले निर्देशन गरेको उक्त चलचित्रका विषयवस्तु अनुज विश्वकर्माले लेखेका हुन् । युवाहरु दुर्व्यसनीमा फस्न सक्ने कारण मध्ये साथी भाइको गलत सङगतको विषयमा चलचित्र केन्द्रित छ ।

कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अहिलेका युवाहरुको महत्वाकांक्षा बढी भएकाले कुलतमा जान सक्ने सम्भावना उच्च रहेको बताए । आफना छोराछोरीको आनिबानी र साथी संगतको बारेमा अभिभावकहरु पनि उत्तिकै सचेत हुनुपर्नेमा उनले जोड दिए ।

लागु औषध दुर्व्यसनी न्यूनीकरणका लागि सबैको निगरानी र प्रयत्न आवश्यक रहेको बताउदै न्यौपानेले डकुमेन्ट्री अभिभावकका माझ पनि प्रदर्शन गरिनुपर्ने बताए । तनहुँ लागु औषध ओसारपसारको ट्रान्जिट बनिरहेको अवस्थामा यो डकुमेन्ट्री प्रदर्शन निकै सान्दर्भिक भएको समेत न्यौपानेको भनाइ छ ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजलाई दुर्व्यसनीबाट मुक्त गर्न घर, परिवार, समाज र  प्रशासन सबैको एकता आवश्यक पर्ने बताए । धेरै युवाहरु दुर्व्यसनीको सिकार भइरहेको अवस्थामा उक्त डकुमेन्ट्रीले सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने उनले विश्वास व्यक्त गरे ।

साथै प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहराले लागु औषध नियन्त्रण गर्न प्रहरी प्रशासनको प्रयत्नले मात्र सम्भव नभएकाले नागरिकले पनि यसमा सहकार्य गर्न आवश्यक  रहेको बताए । उनले भने लागु औषधको ओसारपसार र प्रयोग विकराल रूपमा फैलिएको छ,यसको नियन्त्रणका लागि टोल समाज र जनप्रतिनिधि सबैको उत्तिकै भुमिका हुन्छ । लागु औषधले अति निर्मम तरिकाले शरिरका शिर देखि पाउसम्म असर गर्ने भएकाले यसको प्रयोग नगर्न उनले युवाहरुलाई अनुरोध गरे ।

सोही अवसरमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले युवाहरुलाई सचेत बनाउन चलचित्रले महत्वपुर्ण भूमिका निवार्ह गरेको बताउदै निर्माता, निर्देशन र आयोजकप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा स्वागत गर्दै जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरीले पछिल्लो समय युवाहरु कुलतमा फस्ने क्रम बढ्दै गएकाले सकारात्मक मार्गमा लाग्न प्रेरित गर्न सचेतनामुलक कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।साथै जेसिजले स्थापनाकाल देखि नै व्यक्ति भन्दा समाज केन्द्रित कार्यक्रम गर्दै आएको उनले बताए  ।

कार्यक्रममा जेसिस आस्था र राष्ट्रिय गानको अगुवाई शाखा सम्पादक बिनोद गोशलीले गरेका थिए भने महासचिव सनम अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा दमौलीका विभिन्न कलेजका करिब ३ सय जना विद्यार्थी एवम् प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *