किरण श्रेष्ठ, दमौली, वैशाख ८ गते । तनहुँको व्यास-३ स्थित तनहुँ कारागारमा क्षमताभन्दा दुई गुणाभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । कैदीबन्दी क्षमताभन्दा अधिक हुँदा कारागार प्रशासनलाई व्यवस्थापन गर्न समस्या भएको हो ।
जिल्ला कारागारमा अहिले तीन सय ७ जना कैदीबन्दी छन् । जसमा दुई सय ८४ जना पुरुष र २३ जना महिला हुन् । कैदीबन्दीलाई खान, बस्न, तथा शौचालय प्रयोग गर्न सकस हुने गरेको छ ।
दैनिक रुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागारका निमित्त प्रमुख बिना थापा जानकारी दिइन। थापाले भनिन, “कैदीबन्दी थपिँदै गएपछि ठाउँ अभावमा खानपिन र शौचालयको समेत समस्या छ ।”
निमित्त प्रमुख थापाका अनुसार एक सय ३५ जना क्षमताको कारागारमा तीन सय ७ जना कैदीबन्दी छन् । ‘ए’ ब्लकमा एक सय २३, बी ब्लकमा एक सय ६१ जना र महिलाको सि ब्लकमा २३ जना गरी कुल तीन सय ७ जना कैदीबन्दी छन् । यसका साथै कारागारमा महिलासँग एक जना आश्रित बालिका पनि छन् ।
कारागारमा कर्तव्य ज्यानका ४५, ज्यान मार्ने उद्योगका नौ, सवारी ज्यानका १२, चोरीका २४, बहुविवाहका छ, लागुऔषधका ७७, डाकाचोरीका ११, ठगीका दुई, मानव बेचबिखनका छ, जबर्जस्ती करणीका ९०, जबर्जस्ती करणी उद्योगका चार, अपहरणका तीन, किर्तेका एक, भ्रष्टाचारका दुई, हातहतियार खरखजानाका तीन र अन्य नखुलेका १२ कैदीबन्दी छन् ।
एउटै कोठाभित्र धेरै कैदीबन्दी राख्दा रोगहरूको सङ्क्रमणको खतरा बढेको कारागार प्रशासनले जनाएको छ ।
यस्तै कारागार तनहुँ ६ महिना अघिदेखि स्वास्थ्यकर्मीविहीन छ । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको निमित्त प्रमुख थापाले जानकारी दिइन ।
स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि अर्को व्यवस्था नहुँदा उपचार गर्न सकस भएको तनहुँ कारागारका निमित्त प्रमुख थापाले जानकारी दिइन । उनले भनिन ‘पुरानो स्वास्थ्यकर्मीको दरबन्धि यहाँ नै रहेकाले नयाँ स्वास्थ्यकर्मीको व्यवस्था हुन् सकेको छैन ।’ कारागारमा दिर्घ रोगीहरू धेरै भएकोले निकै सास्ती भएको उनले जानकारी दिइन ।
उनका अनुसार कैदीबन्दी बिरामी भएर ढल्दा बिरामीलाई अस्पताल लैजाने सवारी साधन समेत कारागार संग छैन । स्टेचरमा हालेर भित्री बाटो हुँदै प्रदेश अस्पताल दमौली लैजानुपर्ने बाध्यतामा तनहुँ कारागार रहेको निमित्त प्रमुख थापाले जानकारी दिइन ।