आँबुखैरेनी । आइतबार विद्यालय पोशाक मै बारीमा कोहि विद्यार्थी खन्दै थिए भने कोहि जोत्दै, कोहि भने अदुवा र हलेदोको बिउ छुट्टाउदै ।

यो दृश्य हो तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नम्बर ४ स्थित चण्डेश्वरी आधारभुत विद्यालय, आमडाडावेशिको ।

तनहुँको आँबुखैरेनी गाँउपालिकाले ‘पढ्दै कमाउदै कार्यक्रम’ सुरु गरेको छ । सोही कार्यक्रम अन्तर्गत बारीमा विद्यार्थीहरु काम गर्दै थिए ।

सोही भिडमा भेटिए आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष शुक्र चुमान । उनि पनि विद्यार्थी सँगै बसेर अदुवा र हलेदोको बिउ छुट्टाउदै थिए । एकैछिन पछि बारी नै खन्न थाले ।

 

विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै र कमाउदै परियोजना सुरु गरेको गाँउपालिकाका अध्यक्ष चुमान बताउछन ।

उनि भन्छन ‘विद्यार्थीहरुलाइ आत्मनिर्भर बनाउनु पर्छ ।’

‘सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी सिपयुक्त एवम् स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्य लिएका छौ ।’ गाँउपालिकाका अध्यक्ष चुमानले भने ।

कार्यक्रममा करिब २ रोपनी जग्गामा १७५ केजि अदुवा र १६५ के.जि. हलेदो रोपिएको विद्यालयले जनाएको छ ।

पालिका अन्तर्गतका अन्य विद्यालयहरुमा पनि उपलब्ध जग्गा, विद्यालय तथा अभिभावकको माग तथा कृषि शाखा प्रमुखको अध्ययन प्रतिवेदन बमोजिम यस्ता खाले कार्यक्रम क्रमश सञ्चालन गरिने गाँउपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा आँबुखैरेनी वडा न ४ की वडाअध्यक्ष मिलन भुजेल, गाँउपालिकाका कृषि विकास शाखाका कर्मचारीहरु, व्यवस्थापन समितीका सदस्यहरु को समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *