किरण श्रेष्ठ, तनहुँ । यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब ५ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका प्रतिबद्धतासहित बस्ती छिरेका छन् ।

उम्मेदवारले मतदातालाई आश्वास्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । तनहुँका अधिकांश ग्रामिण पालिकामा उम्मेदवार घरदैलोमा मतदाता नभेटिए पछी बारी मै मत माग्न पुगेका छन् । कतिपय उम्मेदवार मतदातालाई आकर्षित गर्न उनिहरु संगै बारीमा काम गर्न थालेका तस्बिर देखिएका छन् ।

दलका उम्मेदवार आफ्ना पार्टीका घोषणापत्र र कार्यसूची तथा आफ्ना योजना बोकेर मतदाताका घरघरमा पुगेका छन् । चुनाव जितेर गाउँबस्ती नफर्कने आरोप लाग्ने गरेका उम्मेदवारले अहिले मतदातासँगको भेटघाट एवं छलफल तीव्र पारिरहेका छन् । उनीहरु आआफ्ना पक्षमा जनमत सिर्जना गर्न र्‍याली, घरदैलो, जुलुस तथा सभा गरिरहेका छन् । उम्मेदवारले यसपाली सामाजिक सञ्जालको भरपुर उपयोग गरेको पाइन्छ । गाउँबस्तीमा गीत सङ्गीतमार्फत पनि घरदैलो चलेको पाइएको छ ।

तनहुँको १० स्थानीय तहमा हुन लागेको चुनावले पुरै जिल्ला नै निर्वाचनमय भएको छ । यसपाली गाउँबस्तीमा निर्वाचनले छपक्कै छोपेको छ ।

उम्मेदवार मतदाता भेट्न खेतबारीसमेत धाइरहेका छन् । काम गरिरहेको स्थानमा पुगेर भेटघाट गर्ने र विभिन्न विकासका प्रतिबद्धतासहित मतदातालाई आकर्षित गरिरहेका पाइएको छ ।

अरु त ठिकै हो तर उम्मेदवारले मत माग्न जादाँ अनावश्यक ध्वनी प्रदूषण गर्ने गरेका छन । आवश्यकता भन्दा बढी मात्रामा दुई पांग्रे र चार पांग्रे सवारीका साथ घरदैलोमा हिड्ने उम्मेदवारका कारण मतदाता र अन्य स्थानीय हैरान भएका छन । तनहुँको व्यास-२ की रामकुमारी शाही भन्छिन  ‘जनप्रतिनिधि नहुँदै त यस्तो तडकभडक देखाउछन् पछी चुनाव जितेर जनप्रतिनिधी भए भने कसो गर्लान ?’

नेपाली कांग्रेसका तर्फबाट तनहुँको व्यास नगरको प्रमुखमा पुन: उम्मेदवारी दिएका काँग्रेस नेता वैकुण्ठ नाथ न्यौपाने चुनावी अभियान बोकेर मतदाताको घरघर पुगिरहेका छन् । व्यास नगरपालिकामा गर्न बाँकी रहेका अधुरा योजना पुरा गर्न पुन: मेयर बन्न खोजेका न्यौपाने बाँकी योजना पुरा गर्दै थप विकासका काममा योगदान दिने मतदातामाझ चुनावी प्रतिबद्धता जनाएका छन् ।

नेकपा (एमाले) तनहुँले नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुह सँग जिल्लामा चुनावी तालमेल गरेको छ । सोही अनुरुप जिल्लाका तीन स्थानीय तहमा भएको तालमेलमा व्यास नगरपालिकाको प्रमुखमा जोशी समुहबाट जोशी पुत्र दीपकराज जोशी उम्मेदवार बनेका छन् । यस्तै नगर उपप्रमुखमा भने एमाले तनहुँकी जिल्ला सदस्य नेतृ बसुन्धरा घर्ती उम्मेदवार छिन ।

एमाले-जोशी समुहका उम्मेदवार व्यास नगरको समृद्धिका योजनासहित नगरका हरेक घरमा चुनावी अभियानमा सक्रिय भएको बताउछन् । समय तालिका बनाएरै चुनावी अभियान थालेको उनीहरु नागरिकको सेवामा समर्पित हुने उद्घोषसहित मतदाता रिजाउने प्रयासमा छन् ।

मतदाताका समस्या बुझ्दै चुनावी अभियानमा सक्रिय उनीहरु व्यासमा भईरहेको वेतिथि अन्त्य गर्न उम्मेदवार बनेको बताउछन ।

जिल्लामा विभिन्न स्थानीय तहका उम्मेदवार पालिकाको विकास र समृद्धका नारा बोकेर चुनावमा लागेका छन् । उम्मेदवारले स्थानीय तहको माग र आवश्यताअनुसारका आआफ्ना प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।

पर्यटन, विकास, सडक र स्वच्छ वातावरण, विपद् व्यवस्थापन, तटबन्ध जस्ता कार्यक्रम, सामाजिक विकास नागरिक सशक्तिकरण, सीमान्तकृत, विपन्न, गरीब तथा असहाय र पछाडि पारिएका व्यक्तिका लागि राहत तथा पुनस्स्थापनका कार्यक्रम उम्मेदवारका साझा प्रतिबद्धता पाइएका छन् ।

उनीहरुको योजनामा समृद्धि पालिका बनाउने र त्यसका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, वातावरण संरक्षण, नदी नियन्त्रण, सडक सञ्जाल विस्तार, कृषि, उद्योग, मजदुर संरक्षण, गरिबी नियन्त्रण, बेरोजगारी समस्या समाधान, सांस्कृतिक सम्पदा संरक्षण गर्ने कुरा पनि समावेश छ ।

जिल्लामा ६ राष्ट्रियसहितका दल तथा स्वतन्त्र उम्मेदवारसमेतले चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् ।

जिल्लामा विभिन्न ४ सय ४५ पदका लागी १ हजार ६ सय ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा १ सय ३६ मतदानस्थल र २ सय ९७ मतदान केन्द्र छन् । दुई लाख ४४ हजार ३४० जना मतदाता छन् । जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।

चुनावको तयारी तीव्र

यता जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र बनाएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिको खटनपटनको अन्तिम तयारी भएको जानकारी दिए । जिल्लामा ५९९ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई १ दिने तालिम दिएर कार्यस्थलमा पठाउने तयारी गरिएको  प्रमुख ढकालले जानकारी दिए ।

दश वटा स्थानीय तहका ८५ वडामा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र कायम गरिएको छ । २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत नियुक्ति गरिएको निर्वाचन अधिकारी ढकालले बताए । उनका अनुसार प्रत्यक मतदान केन्द्रमा अन्य २ जना सहायक कर्मचारी, १ जना सहयोगी र ३ जना स्वयसेवक रहनेछ ।

निर्वाचन आयोगबाट चुनावका लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा आइसकेको प्रमुख ढकालले बताए । २ लाख ६९ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले तनहुँका १३६ मतदानस्थलमध्ये ५ वटालाई अति संवेदनशील, ३८ वटा संवेदनशील र ९३ वटालाई सामान्य समूहमा राखेर योजना बनाएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए । अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।

“मतदान पूर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना बनाएका छौँ”, उनले भने, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका जनशक्ति परिचालन गरिएको छ ।”

निर्वाचन सुरक्षाका लागि तनहुँमा १ हजार १८८ म्यादी प्रहरी भर्ना भएका छन् । मतदान केन्द्रमा १ हजार १८८ म्यादी प्रहरी र ८ सय नेपाल प्रहरी खटिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नयव उपरीक्षक युवराज खड्काले जानकारी दिए । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *