कांग्रेसले ४६, एमालेले २८ र माओवादीले ७ वडाध्यक्ष जित्दा ४ वडामा स्वतन्त्र विजयी
किरण श्रेष्ठ, तनहुँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना तनहुँमा सकिएको छ । जिल्लाको दश पालिकाको नै मतगणना सकिएर अन्तिम नतिजा आइसकेको छ ।
जिल्लाको पाँच पालिकामा नेपाली कांग्रेस, चार पालिकामा नेकपा एमाले र एक पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
तनहुँको कांग्रेसले व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा विजयी भएको छ । नेकपा एमालेले भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका र बन्दिपुर गाउँपालिकामा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिका विजयी भएको छ ।
पाँच पालिका प्रमुख र पाँच उपप्रमुख सहित तनहुँमा नेपाली कांग्रेस पहिलो, ४ पालिका प्रमुख र २ उपप्रमुख सहित नेकपा एमाले दोस्रो हुँदा एक पालिका प्रमुख ३ उपप्रमुख सहित नेकपा माओवादी केन्द्र तेस्रो भएको छ ।
अहिले कांग्रेसले म्याग्दे र आँबुखैरेनी गाउँपालिका गुमाएर देवघाट गाउँपालिका जितेको छ । एमालेले देवघाट गाउँपालिका गुमाएर म्याग्दे र बन्दिपुर गाउँपालिका जितेको छ । कांग्रेस र एमालेले पहिले जितेका अन्य पालिका यसपालि पनि जितेका छन् । यस्तै माओवादीले बन्दिपुर गाउँपालिका गुमाएर अहिले आँबुखैरेनी गाउँपालिका जितेको छ ।
गता निर्वाचनमा कांग्रेसले ६ पालिका, एमालेले ३ र माओवादीले एक पालिकामा विजयी भएको थियो । कांग्रेस व्यास, भानु, शुक्लागण्डकी नगरपालिका, ऋषिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकामा विजयी भएका थिए । एमालेले भिमाद, देवघाट र घिरिङ गाउँपालेकामा विजय हासिल गरेको थियो भने माओवादी केन्द्रले बन्दिपुर गाउँपालिका जितेको थियो ।
तनहुँमा १० वटा पालिका र ८५ वटा वडा रहेको छ । जिल्लामा कांग्रेसले ४६ वडा जितेको छ भने एमालेले २८ वडा र माओवादी केन्द्रले ७ वडामा विजयी भएको छ । गत २०७४ को निर्वाचनमा कांग्रेसले ५० वडा, एमालेले ३० र माओवादी केन्द्रले ५ वडा जितेको थियो ।
अहिले नेपाली कांग्रेसले व्यास नगरपालिकामा ११ वटा, शुक्लागण्डकी नगरपालिकामा ५ वटा, भानु नगरपालिकामा ९ वटा, भिमाद नगरपालिकामा ४ वटा, म्याग्दे गाउँपालिकामा ४ वटा, आँबुखैरेनी गाउँपालिकामा २ वटा, देवघाट गाउँपालिकामा ३ वटा, बन्दिपुर गाउँपालिकामा १, ऋषिङ गाउँपालिकामा ५ वटा र घिरिङ गाउँपालिकामा २ वटा वडा जितेको छ ।
यस्तै नेकपा एमालेले व्यास नगरपालिकामा ३ वटा, शुक्लागण्डकी नगरपालिकामा ६ वटा, भानु नगरपालिकामा २ वटा, भिमाद नगरपालिकामा ५ वटा, म्याग्दे गाउँपालिकामा ३ वटा, आँबुखैरेनी गाउँपालिकामा १, देवघाट गाउँपालिकामा २ वटा, बन्दिपुर गाउँपालिकामा ३ वटा र घिरिङ गाउँपालिकामा ३ वटा वडा जितेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकामा १, आँबुखैरेनी गाउँपालिकामा ३ वटा, बन्दिपुर गाउँपालिकामा २ वटा र ऋषिङ गाउँपालिकामा १ वडा जितेको छ ।
यसैगरी भानु नगरपालिकाको २ वटा र ऋषिङ गाउँपालिकाको २ वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।