तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका भित्र चितुवाको आतंक बढ्न थालेपछि नियन्त्रणका लागि खोर राखिएको छ । गत शनिबार चितुवाको आक्रमणबाट स्थानीय २ जना घाइते भएका थिए ।
बन्दीपुर गाउँपालिका-१ बाघदले स्थित वनमा चितुवा नियन्त्रणको लागि पासो स्वरूप फलामे खोर र खोरमा बाख्रा समेत राखिएको छ । बाख्रा खान जादा चितुवा पासोमा पर्ने र नियन्त्रणको लागि सहज हुने विश्वासका साथ पासो थापिएको बन्दीपुर १ का वडाअध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
वडा कार्यालयको आग्रहमा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चितुवा नियन्त्रणको प्रयास गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त क्षेत्रमा चितुवाको आंतकले जनमानसमा त्रासको वातावरण बनेकाले चितुवा नियन्त्रण गरी सुरक्षित साथ वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन प्रयास गरिएको उनले बताए ।
गत शनिबार बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर–१ बागदलेमा ३५ वर्षीय भिमलाल गरञ्जा घाइते भएका छन् । दुवै घाइतेको अवस्था खतरामुक्त रहेको छ । दुवै घाइतेको डुम्रेस्थित मोती मेडिकलमा उपचार गरिएको थियो ।
चितुवाले दुबै घाइतेलाई घर वरपर नै आक्रमण गरेको थियो ।
तनहुँमा चितुवाको आक्रमणले पछिल्लो ३ वर्षको अवधिमा १२ जना बालबालिकाको मृत्यु भइसकेको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने ‘जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छ भने पछिल्ला दिनहरुमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतंक बढेको छ ।’
शुक्लागण्डकीको थप्रेकमा राखिएको फलामे खोर आइतबार बाघदलेमा लागेर राखिएको सहायक वन अधिकृत श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार २०७४ देखि हालसम्म १७ वटा चितुवाको जीवित उद्धार गरिएको छ भने २० वटा चितुवा मृत फेला परेको छ ।
डिभिजन वन कार्यालय तनहुँले चितुवाले आक्रमण गरेको ठाउँमा फेरी पनि आक्रमण गर्ने सम्भावना रहेकाले सर्तकता अपनाउन स्थानीयलाई अनुरोध गरेको छ ।
साँझ र रातको समयमा एक्लै नहिड्न, घर वरपर झाडी क्षेत्र नराख्न समेत डिभिजन वन कार्यालय तनहुँले अनुरोध गरेको छ ।