मुटु बिझाउँने मुटु बिरामीको कथा

Byखवरबाटिका

१९ श्रावण २०७७, सोमबार ११:४८ १९ श्रावण २०७७, सोमबार ११:४८ १९ श्रावण २०७७, सोमबार ११:४८

समुन्द्र पाैडेल/भानु

उमेरले ४५ पुगेकी चन्द्रकुमारी कामीको निधारमा चाउरीपना देखा पर्न थालिसकेको छ। उमेर भन्दा पनि उनको चाउरीपनामा जीन्दगीको भोगाईमा परिपक्कता झल्कन्छ। कहिले भन्सार त कहिले डुम्रेबजारका पसलमा माग्न निस्किन्छिन उनी । बिहान बेलुकीको गाँक त छोरोको कमाईले जेनतेन धान्थ्यो तर श्रीमानको औषधी उपचारको निम्ति बजारका व्यापारी र सर्वसाधारणको दैलो चाल्नुको बिकल्प छैन, उनीसंग। ‘माग्दै हिड्न त कसलाई पो मन हुन्छ र?’ आँखामा आशु टिलपिलाउँदै उनले भनिन, ‘बचन लगाएर बल्ल तल्ल पाँच दश रुपैया दिन्छन्।’

परिवारको गुजाराको आधार बनेका उनका श्रीमान मदन बि.कको नामले चिनिएका मैते कामी मुटुसम्बन्धी रोगबाट बिरामी परेपछि अहिले उनैलाई औषधी किन्न चन्द्रकुमारी बजारमा माग्न हिड्छिन। लमजुङको भाच्चोकबाट २०६२ सालमा १ छोरा र १ छोरीलाई काखे च्यापेर सहर झरेका उनीहरु भानु नगरपालिका १ ठुकुरी गैह्रामा बस्दै आएका छन । सहरको सहज जीवनको सपना बोकेर सहर झरेको यो परिवार अहिले थला परेको छ। डेढ बर्षदेखी काम गर्न नसक्ने भएका मदन अहिले सहयोग गर्ने सहयोगी मनको खोजीमा छन ।

‘पहिला त जेनतेन परिवारको गुजारा चलाएको थिए’ मदनले विगत सम्झिए,‘रोगले च्यापेपछि केही गर्न सकिन ।’ गाउँमा सिकर्मी, डकर्मी काम गरेर परिवारको गुजारा चलाएका मदन अहिले बिहान बेलुकाको छाँक टार्न १८ बर्षे छोरा मनोजको बाटो हेर्नुपर्ने अबस्थामा पुगेको छ । ‘छोराको कमाईले बिहान बेलुकाको खाना खान पाएका छौ,’ उनले भने, ‘खानाको जोहो गर्नकै लागि पढ्दा पद्दै पढाई छाड्नु प¥यो ।’ हेमराज लोहनी शारदा शिक्षा सदनमा पढ्दा पढ्दै ७ कक्षामै पढाई छाडेका मनोज अहिले गाउँमै एक व्यवसायीको ट्याक्टर चलाउने गर्छन । जेठी छोरीलाई पराई घर दिईसकेका उनीहरुलाई १२ वर्षकी छोरी सुशिलाको पढाईको भने चिन्ता छ। उनी ६ कक्षामा पढ्छिन्।

रोग देखा परेलगतै उपचारका लागि दमौली अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, शिक्षण अस्पताल, शहिद गंगालाल राष्टिूय ह्दयरोग केन्द्र लगायतका अस्पताल पुगेका मदनले झण्डै ४ लाख रुपैया उपचारमा खर्चिसकेको बताए। ‘गत दशै अघि उपचार गर्न जादाँ तिहार लगतै फेरी आउन भनेर डाक्टरले भनेका थिए,’ बाबुसंग अस्पताल गएर फर्किएका मनोजले भने, ‘उपचारका लागि पैसा नभएपछि फर्किएर अस्पताल गएनौ।’


झण्डै एक वर्ष अस्पताल ओहोर(दोहोर गर्दा भान्जीसंग ऋण मागेको ३ लाख ९० हजार रुपैया कसरी चुक्ता गर्ने भन्ने चिन्ताले सताएको चन्द्र कुमारीले सुनाइन। ‘भान्जीले अरुसंग सापट गरेर पठाईदिएको पैसा साँहुले माग्न थालेछ’ उनले भनिन, ‘सम्पतीको नाममा यही झप्रो छ, त्यो पनि अहिलेसम्म आफ्नो नाममा जग्गाको पुर्जा छैन ।’ बाँझो जग्गाको रेखदेख र खेतीपाती गरे वापत जग्गा दिने बर्षौअघि देखीको जग्गा धनीको आश्वासनमा बसेका उनीहरुमा घरको जग्गा आफ्नो नाममा पुर्जा पाउने आशा भने अझै मरेको छैन ।


आर्थिक अभावकै कारण मदनको उपचारमा समस्या भएपछि स्थानीयले उनको उपचारका लागि आर्थिक संकलन गर्ने अभियान शुरु गरेका छन् । युवा नेता आनन्दराज त्रिपाट्टीको अगवाईमा सहयोग संकलन अभियान शुरु गरिएकोमा स्थानीय भन्सार युवा परिवार र भिमसेन युवा क्लवले पनि सहयोग गरेको छ । ‘उपचारकै अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर आर्थिक संकलनको अभियान शुरु गरेका हौ,’ उनले भने, ‘केही रकम संकलन भए लगतै स्वास्थ्य परिक्षणका लागि काठमाण्डौं लैजाने तयारी गरेका छौ ।’ मदन बिकको उपचारमा सहयोग गर्न चहाने सहयोगदाताले प्राइम बैकमा आनन्दराज त्रिपाठी र समुन्द्र पौडेलको नाममा रहेको खाता नं. ११४००००६एडि मा रकम जम्मा गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *