बैकमा अल्झिएका वेदव्यास

समुन्द्र पाैडेल/दमाैली

झण्डै १२ वर्ष अघि व्यास जन्मभूमीमा बेदव्यासको १०८ फिट अग्लो शालिक निर्माण गर्ने परिकल्पना अझै योजनामै थन्किएको छ । ११ बर्षको अवधीमा दुईपटक महायज्ञ संचालन गरेर करिब ४ करोड संकलन भएपनि अपेक्षाकृत रुपमा निर्माणको काम अघि नबढ्दा दातामा निराश बढेको छ। महायज्ञमा संकलित रकमलाई कोषले बैकमा मात्र सिमित बनाउँदा शालिक निर्माणको लागत दिनानुदिन बढ्दै गईरहेको सर्वसाधारणको गुनासो छ।

तत्कालिन शिव पाञ्चायन मन्दिर व्यवस्थापन समितिले पहिलो महायज्ञमा करिब ५५ लाख रुपैया संकलन गरेको थियो । महायज्ञ सम्पन्न भएको डेढ वर्षपछि व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषको स्थापना गरेर मन्दिर व्यवस्थापन समितिले १ सय ८ फिट अग्लो वेदव्यासको शालिक निर्माणको जिम्मेवारी कोषलाई सुम्पेको थियो ।

अघिल्लो कार्यसमितिले १६ लाख रुपैयाको खर्च गरेर दोश्रो समितिलाई जिम्मेवारी सुम्पेको व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषका पुर्व अध्यक्ष बृषराज श्रेष्ठले जानकारी दिए । ‘महायज्ञको ५५ लाख रुपैया बैक मौज्दात सहित हाम्रो समितिले जिम्मेवारी लिएका थियौं,’ उनले भने, ‘कार्यकालमा १४ लाख रुपैयाको लागतमा वेदव्यासको पूर्णकदको शालिक र २ लाखको लागतमा डिजाइनको काम सकेका थियौ ।’ झण्डै ७ बर्ष बैकमा राखेको पैसाको व्याजले आफ्नो कार्यकालको खर्च धानेको श्रेष्ठले दाबी गरे । आफ्नो कार्यकालमा गरिएको डिजाइनकै आधारमा शालिक निर्माणका लागि शिलान्यास समेत गरिएको उनले बताए ।

बैक खातामा रहेको ४६ लाख रुपैया सहित २०७२ सालमा अशोक कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिले व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषको जिम्मेवारी लिएकोमा करिब ५० लाखको लागतमा गुरुयोजनाको काम सम्पन्न गरेको थियो । गुरुयोजना अनुसार काम शुरु गर्न कोषले गत वर्ष दमौलीमा संचालन गरेको महायज्ञमा करिब ३ करोड ५० लाख दान संकलन भएको महायज्ञका आर्थिक संयोजक मंगलप्रसाद श्रेष्ठले जानकारी दिए। ‘महायज्ञमा प्रतिबद्धता सहित ३ करोड ५० लाख संकलन भएको थियो ।’ उनले भने, ‘त्यो मध्येमा झण्डै ५० लाख रुपैया दान अझै उठ्न बाँकी छ ।’

महायज्ञमा संकलित रकमलाई विकास कोषले दमौली स्थित सिद्धार्थ बैकमा खाता खोली जम्मा गरेकोमा अपेक्षित व्याज प्राप्त नभएको देखिएको छ । १ वर्षको अवधीमा बैकले डेढ करोड रुपैयाको बैक व्याज करिब ६५ हजार रुपैया प्रदान गरेको छ । बैकले अघिल्लो आर्थिक वर्षको व्याज नदिएको कोषका पदाधिकारीको भनाई छ ।

अघिल्लो आर्थिक वर्षको व्याज समेत प्रदान गरिएको दाबी गर्दै सिद्धार्थ बैकका दमौली शाखा प्रमुख सुरेश न्यौपानेले कोरोनाको कारण बैकमा देखिएको तरलताका कारण बैकहरुले अति न्यून व्याजदर कायम गरेकोे बताए। ‘कोरोनाको समस्या पछि सबै बैकको व्याजदरमा गिरावट आएको छ’, उनले भने, ‘कल डिपोजिटमा बचतमा भन्दा आधा मात्र व्याजदर कायम भएकाले व्याज थोरै देखिएको हो ।’

तुरुन्त काम अघि बढाउने योजनाका साथ खाता परिर्वतन नगरिदाँ कोषले नोक्सानी व्यहोर्नु परेको व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले स्वीकारे। गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैया बिनियोजन भएकोमा असार मसान्तमा काम सम्पन्न गर्नुपर्ने भएकाले कोषले पश्चिम खण्डमा मुलगेट निर्माण शुरु गरेको थियो ।

प्रदेश सरकारले गत बर्ष बिनियोजन गरेको १० लाख रूपैयाबाट निर्मित गेट ।

व्यास नगरपालिकाले वेदव्यासको शालिक निर्माणको योजनालाई अघि सार्ने गरी कोषले काम अघि बढाउन लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘पर्यटन मन्त्रालयसंग म्याचिङ फण्डमार्फत ७० प्रतिशत र ३० प्रतिशत व्यास नगरपालिकाबाट हुने गरी काम अघि बढाउन लागिएको छ,’ उनले भने, ‘अब चाँडै नै शालिक निर्माणको कामलाई अघि बढाउने छौं।’

वेदव्यासको पूर्णकदको शालिक निर्माणका लागि तनहुँ–१ का निवर्तमान सांसद किसान श्रेष्ठको पहलमा पर्यटन मन्त्रालयबाट ७ करोड बिनियोजन भएको छ। यसमा व्यास नगरपालिकाको तर्फबाट ३ करोड (व्यास नगरपालिकाको डेढ र कोषको डेढ करोड) गरी ९ करोड भन्दा बढिको टेण्डर निकाल्ने तयारी भईरहेको उनले बताए।

व्यास नगरपालिकाको तर्फबाट बुझाउनु पर्ने तीन करोड रुपैयाका लागि कोषले डेढ करोड रुपैया करिब एक महिना अघि नै व्यास नगरपालिकाको खातामा जम्मा गरिसकेको छ । यो वर्षपनि प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट थप १० लाख विनियोजन भएको र डिभिजन वन कार्यालय तनहुँ मार्फत पर्यटन प्रबद्र्धन कार्यक्रम मार्फत २० लाख विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button