तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदका दुई जना बाहेक अन्य उम्मेदवारले खसेको मतको १० प्रतिशत मत कटाउन सकेनन् । व्यास नगरपालिकाको निर्वाचनमा ३० हजार २४७ मत खसेको थियो । कानुनी प्रावधानअनुसार उक्त सङ्ख्याको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेमा दुई जनाबाहेक अन्यको धरौटी जफत भएको हो ।

स्थानीय तह निर्वाचनमा कूल खसेको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि प्रमुखका उम्मेदवार बनेका उनीहरुको धरौटी जफत भएको हो । व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका ९ जनाको धरौटी जफत भएको छ ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा, मङ्गोल नेशनल अर्गनाइजेशन, मौलिक जरोकिलो पार्टी, नेकपा माक्र्सवादी लेनिनवादी र दुई स्वतन्त्र उम्मेदवारको धरौटी जफत भएको छ ।

नगरप्रमुखमा माओवादी केन्द्रका अतिन्द्रकेशरी न्यौपानेले ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दौलत अधिकारीले ५४६, राष्ट्रिय जनमुक्ति पार्टीका मीना थापाले १६५, विवेकशील साझा पार्टीका रमेशप्रसाद आचार्यले १३९, मङ्गोल नेशनल अर्गनाइजेशनका अनिता थापा मगरले ५३, मौलिक जरोकिलो पार्टीका रमेश पौडेलले ४२, नेकपा (माले)का अञ्जना थापाले २९, स्वतन्त्र उम्मेदवार पार्वती कार्कीले ४१ र धनबहादुर परियारले १७ मत पाएका छन् ।

उपप्रमुखतर्फ आठ जनामध्ये ६ जनाको धरौटी जफत भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी चन्द्रावती पन्थले ७१९, नेकपा (एकीकृत समाजवादी)की मनुमाया श्रेष्ठले ७०६, माओवादी केन्द्रकी देवा सुर्खालीले ६८२, राष्ट्रिय जनमुक्ति पार्टीका बहादुरसिं थापाले ११६, विवेकशील साझाकी हसिना बानुले ८४ र मङ्गोल नेशनल अर्गनाइजेशनकी श्रीमाया थापाले ५४ मत प्राप्त गरिन । १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनिहरुको धरौटी जफत भएको छ ।

व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका छन् । यत्सै न्यौपानेका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८०२ मत प्राप्त गरे । उनिहरु दुई जनाको मात्रै धरौटी सुरक्षित भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

यस्तै व्यास नगरपालिकाको उपप्रमुखमा कांग्रेसकी इन्दिरा दरै १३ हजार ४९४ मत प्राप्त गरी विजयी भईन । दरैको प्रतिस्पर्धी नेकपा (एमाले)का बसुन्धरा घर्तीले १० हजार दुई मत प्राप्त गरिन । उनिहरु दुई जनाको धरौटी सुरक्षित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *