तनहुँ । रोटरी क्लब अफ दमौलीको आयोजना तथा व्यास नगरपालिकाको सहआयोजनामा शुक्रबार व्यास–१४ माझथर कुलुङ्गमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जी. पी. कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र ,शुक्लागण्डकी , रत्नहरी मेमोरियल अस्पताल र दमौली अस्पतालको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

रोटरीको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित उक्त निशुल्क स्वास्थ्य शिविरबाट कुलुङ्ग, केशवटार, ठिन, रामकोट लगायतका क्षेत्रका ३ सय ५ जना लाभान्वित भएका छन् ।

पेट ,छाती ,मुटु ,प्रेसर ,सुगर,थाइराइड विषेशज्ञ ,हाडजोर्नी तथा नशा रोग विषेशज्ञ, स्त्री तथा प्रसुती रोग विषेशज्ञ ,जनरल सर्जरी ,बाल रोग बिषेशज्ञद्धारा स्वास्थ्य सेवा प्रदान गरिएको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

साथै शिविरमा निशुल्क भिडियो एक्सरे सेवा, रगतबाट सुगर तथा ब्लड ग्रुप परिक्षण गरिएको थियो भने परिक्षण गरेअनुसार सबै खालका बिरामीलाई निशुल्क औषधी वितरण समेत गरिएको श्रेष्ठले बताए ।

शिविरमा ३ सय ५ जना बिरामीको परिक्षण गर्दा १ सय ७ जनाको भिडियो एक्सरे गरिएको डाक्टर रामकुमार श्रेष्ठले जानकारी दिए । भिडियो एक्सरे गर्दा धेरै बिरामीमा पत्थरीको समस्या देखिएको उनले बताए । पित्त थैलीमा पत्थरी देखिएका बिरामीहरुलाई जी.पि कोइरालाबाट निशुल्क अपरेशन लगायतका सेवा प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।

त्यस्तै ल्याव परिक्षणका क्रममा सुगरको समस्या पनि अधिक देखिएको छ । पर्याप्त रुपमा शुद्ध पानी पिउनाले र जीवनशैलीमा केही परिवर्तन ल्याउने हो भने पत्थरी, सुगर, प्रेसर लगायतका समस्याबाट मुक्ती पाउन सकिने भन्दै डा. श्रेष्ठले जीवनशैलीमा ध्यान पु¥याउन सबैलाई आग्रह गरेका थिए ।
शिविरमा ४ वर्षीया बालिका देखी ८६ वर्षीया वृद्धसम्मको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जानकारी दिएको छ ।

शिविरको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ८५ वर्षीया सुनिमाया रानालाई दिएर शुभारम्भ गर्दै आफुमा भएका समस्या नलुकाई विशेषज्ञहरु समक्ष राख्न सबैलाई आग्रह गरे । नगरपालिका पनि महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति संवेदनशील रहेको चर्चा गर्दै न्यौपानेले वडा–वडामा स्वास्थ्य परिक्षणका योजना बनाएको जानकारी दिए ।

रोटरीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै स्थानीय सरकार रोटरी जस्ता सेवामुलक संस्थासँग सहकार्य गर्न सधैं तयार रहेको न्यौपानेको भनाइ थियो ।

सोही अवसरमा व्यास–१४का वडाध्यक्ष काशीमान श्रेष्ठले सबै नागरिकलाई सर्वशुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आफु सचेत रहेको बताए। कुलङ्ग भौगोलिक दृष्टिकोणले अलि कोल्टो पर्ने भएकाले त्यहाँका नागरिकले स्वास्थ्य सेवा लिन टाढा धाउनुपर्ने बाध्यता रही आएकोमा त्यसको सहज व्यवस्थापन गर्न लागि गरेको श्रेष्ठको भनाइ थियो । दुर्गम ठाउँलाई लक्षित गरी रोटरी विशेषज्ञ र औषधी सहितको सेवा प्रदान गरेको प्रति श्रेष्ठले आभार व्यक्त गरेका थिए ।

हरेक वर्ष दुर्गम ठाउँमा स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम अनुसार रोटरी क्लब अफ दमौलीले स्थानीयको आवश्यता अनुसार कुलुङ्गमा स्वास्थ्य शिविर आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर भण्डारीले जानकारी दिए ।

कुलुङ्गमा स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको जानकारी पाएपछि उक्त ठाउँमा विशेषज्ञ टोली सहित ल्याब, भिडियो एक्सरे र निशुल्क औषधी समेत वितरण गरिएको भण्डारीले जानकारी दिए ।

क्लबका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष देबकुमार श्रेष्ठ, हरिसिंह गुरुङ, व्यास नगरपालिकाको कार्यपालिका सदस्य नरिमाया थापा, डा.रामकुमार श्रेष्ठ, इनरह्विल क्लब अफ दमौलीका अध्यक्ष मञ्जु थापा, रोटरीका सहसचिव देवराज अधिकारी, छाब्दी बराही युवा क्लबका अध्यक्ष चुडामणि थापा लगायतले बोलेका थिए ।

उक्त शिविरमा रोट्र¥याक्ट क्लब अफ दमौली, इनरह्विल क्लब अफ दमौली, रोट्र¥याक्ट वेदव्यास, भिमाद र भानु, छाब्दी बराही आमा समूह, लाङ्गघाली युवा क्लब कुलुङ्ग, कुलुङ्ग सामुदायिक होमस्टे लगायतका संघसंस्थाले स्वयंसेवकको रुपमा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *